☰ open Loading... 2 May 2024|  

प्रतिबद्धता भुल्दै राजनीति दल
  | २८ पुष २०७७, मंगलवार ०७:३६

सुर्खेत । आइतबार दैलेख सदरमुकाममा प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दै उक्त समूहको भव्य -याली निस्कियो । त्यसमा युवायुवतीदेखि वृद्धवृद्धासम्मको बाक्लो उपस्थिति थियो । सयौंजनामा सहभागीमध्ये कमैले माक्स प्रयोग गरेका देखिन्थ्ये । अधिकांश मास्कबिना -यालीमा सहभागी भए । सोही दिन रुकुम पश्चिममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक कदम भन्दै गरिएको विरोध -यालीदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा प्रचण्ड–माधव समूहले गरेको प्रशिक्षण कार्यक्रममा पनि उस्तै स्थिति थियो । शनिबार प्रचण्ड–नेपाल समूहको दैलेख दुल्लुमा भएको कार्यक्रममा पनि स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड अपनाएनन् । विश्वभरि फैलिएको कोभिड–१९ (कोरोना भाइरस) न्यूनीकरण नहुँदै यसबाट बच्न न त सामाजिक दुरी कायम गरिएको थितो न सुरक्षित रहन मास्क थियो ।

त्यो दृश्य देख्दा लाग्थ्यो, ‘कोरोना भाइरस न्यूनीकरण भइसक्यो ।’ तर अवस्था त्यस्तो छैन । कोरोना भाइरसको औषधि तथा खोप बनि सकेको अवस्था छैन र यस संक्रमण रोकथाम पनि भएको छैन । परीक्षण दर घटे पनि संक्रमित र यसबाट मृत्यु हुने दर नघटेकाले यसबाट सजगता अपनाउन जरुरी भए पनि दलहरूले आफ्नै प्रतिबद्धता उल्लंघन गर्दा जोखिम झन बढाएको छ । कोरोना भाइरस फैलिनुभन्दा अघि दलहरुले यसबाट बच्न सामाजिक दुरी कायम गर्ने, मास्क प्रयोग गर्ने, नेपाल सरकारको निर्धारण गरेको मापदण्डअनुसार सभा, सम्मेलन, भेला, गोष्ठी इत्यादि नगर्ने प्रतिबद्धता जनाएका थिए । तर कोरोना भाइरस निर्मूल नहुँदै दलहरुले उक्त प्रतिबद्धता उल्लंघन गरेका छन् । कर्णालीमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसले विरोध कार्यक्रम गर्दै आएका छन् भने प्रधानमन्त्री ओली समूह ओलीको बचाउमा सडकमा उत्रिएका छन् । जसले कोरोना भाइरस संक्रमणको झन जोखिम फैलाएको छ ।

राजनीतिक दलहरुले न्यूनतम मापदण्ड पालना नगरेको नागरिक समाज सुर्खेतका अगुवा पीताम्बर ढकालले बताए । ‘अहिले नै कोरोना भाइरस न्यूनीकरण भइसकेको छैन,’ उनले भने, ‘पछिल्ला केही दिन परीक्षण कम हुँदा कोरोना भाइरस संक्रमितको संख्या कम मात्र देखिएको हो । अहिले पनि कोरोना भाइरस बढ्दो छ ।’ यस्तो अवस्थामा सरकारले पालना गरेका मापदण्ड अपनाउनु पर्ने उनको भनाइ छ । अहिले भइरहेको हेलचक्र्याइँले कोरोना भाइरसलाई मथ्थर होइन अझ बढवा गर्ने भन्दै उनले भने, ‘यो त नागरिकको स्वास्थ्य सुरक्षामा गम्भीर लापरबाही भयो ।’ राजनीतिक दलको नेतृत्वले अरुलाई सिकाउन छाडेर आफैँ आफ्ना प्रतिबद्धता उल्लंघन गर्दै जानुले नागरिकको स्वास्थ्यप्रति दलहरु गम्भीर नभएको उनको भनाइ छ ।

‘दलहरूले यतिबेला धेरै मान्छे जम्मा गरेर कार्यक्रम गर्नुभन्दा प्रविधिको प्रयोग गर्नुपर्ने,’ सुर्खेतकी गीता चपाईले भनिन्, ‘यसरी जाँदा त कोरोनाको जोखिम बढेको छ ।’ अहिले कोरोना भाइरसलाई सामान्यरुपमा लिइए पनि न्यूनीकरण नहुँदासम्म यसलाई सामान्यरुपमा लिन नहुने उनको सुझाव छ । भेला सम्मेलन गर्दा सामाजिक दुरी कायम नहुने भन्दै अधिवक्ता दुर्गाप्रसाद सापकोटाले परिस्थितिलाई बुझेर सोहीअनुसार कार्यक्रम गर्नुपर्ने बताए । ‘शान्तिपूर्ण तरिकाले विरोध वा समर्थन गर्न पाउने अधिकार छ,’ उनले भने, ‘तर अधिकार हुँदाहुँदै पनि परिस्थितिलाई ध्यान दिएर काम गर्नुपर्छ ।’ कोरोना भाइरसको औषधि र खोपको विकास नभइसक्दा यसरी सामाजिक दुरी कायम नगरी र स्वास्थ्य सुरक्षाका विधि नअपनाएर भेला सम्मेलन गर्नु नागरिकको स्वास्थ्यमाथि ख्याल नगर्नु रहेको उनले बताए । अझ जिल्ला दौडाहमा निस्केका नेताहरु पनि सबैको सम्पर्कमा आउँदा यसले जटिलता थपेको स्थानीयहरुको भनाइ छ । नेपाल सरकारले गरेको लकडाउन अहिले पूर्णरुपमा खुला भइनसकेकाले न्यूनतम मापदण्ड अपनाएर राजनीति दलले गतिविधि गर्नुपर्नेमा उनीहरुको जोड छ । साभारः नागरिक दैनिक ।