सुर्खेत । बराहताल गाउँपालिका–१ स्थित काफलगैरामा भैरव आधारभूत विद्यालय छ । तीन कक्षासम्म पढाई हुने विद्यालयमा अघिल्लो वर्षसम्म दुई कोठे कच्ची भवन थियो । ५० भन्दाबढी विद्यार्थीहरु नियमित अध्ययन गर्थे । गाउँलेले आफ्ना नानी–बाबु अध्ययन गर्ने विद्यालयमा थप कक्षा कोठाको माग गरे । भवन माग्दै स्थानीयहरु वडादेखि गाउँपालिकासम्म धाए । गाउँपालिकाले भैरव आधारभूत विद्यालयको भवन निर्माणका लागि १६ लाख रुपैयाँ छुट्यायो ।
स्थानीयहरुले भवन निर्माणका लागि ढुंगा जम्मा गरे । २१ किलोमिटर टाढा भेरी किनारको रानीघाटबाट बोरामा बालुवा बोकेर ल्याए । तत्कालीन विद्यालयका प्रधानाध्यापक सुन्दरकुमार विकले नयाँ भवन बनाउन भन्दै पुरानो भवन भत्काउन लगाए । अहिले यहाँ न पुरानो भवन छ, न नयाँ भवन बनेको छ । विद्यार्थीहरु चौरमा राखेर पढाउनुपर्ने बाध्यता छ । ‘तत्कालीन प्रधानाध्यापकका कारण पुरानो भवन पनि भत्कियो, नयाँ भवन बन्न सकेन्,’ वडाध्यक्ष तुलादेव भारतीले भने, ‘साना नानीबाबुहरुलाई चौरमा राखेर पढाउनुपर्ने बाध्यता छ ।’
वडाध्यक्ष भारतीका अनुसार व्यवस्थापन समितिले ढुंगा र बालुवा जुटाउने र प्रधानाध्यापकले सिमेन्टलगायतका सामाग्रीहरुको व्यवस्थापन गर्ने गरेर कार्यविभाजन गरिएको थियो । ‘हामीले भवन निर्माणका लागि आवश्यक पर्ने ढुंगा र बालुवा जम्मा गर्यौं,’ तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर वलीले भने, ‘प्रअले सिमेन्टलगायतका सामाग्री खरिद गरेर ल्याउनुपर्नेमा हामीलाई थाहै नदिएर विद्यालयको खातामा आइसकेको पैसा रानीवनको विद्यालयलाई दिएछन् ।’
पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीका अनुसार सिमेन्ट, सरियालगायतका सामाग्री खरिदका लागि वीरेन्द्रनगर गएका प्रअले हार्डवेयर व्यवसायीसँग कमिसन मागेका थिए । ‘कमिसनमा कुरा नमिलेपछि प्रअले अर्को विद्यालयलाई पैसा पठाएको थाहा भयो,’ उनले भने, ‘न पहिलेको भवन बाँकी रह्यो, न नयाँ भवननै बन्यो ।’ विद्यालय भवन हुँदासम्म दैनिक ५०–५५ जना विद्यार्थीहरु नियमित अध्ययनका लागि आउँथे । अहिले भवन छैन् । पानी परेको दिन, हावाहुरी चलेको दिन विद्यालय बन्द हुन्छ । एक जना कार्यालय सहयोगीका भरमा विद्यालय सञ्चालन भइरहेको छ । चालू शैक्षिकसत्रमा ११ जना विद्यार्थी मात्रै भर्ना भएका छन् ।
‘अहिले पाँच–सात जना विद्यार्थी मात्रै नियमित आउँछन्,’ कार्यालय सहयोगी ढकबहादुर चुनाराले भने, ‘आएका विद्यार्थीहरुलाई चौरमा राखेर पढाउने गरेको छु ।’ नजिक अर्को विद्यालय छैन् । सुगुरखालको वशन्त नेपाल राष्ट्रिय प्राविमा पुग्न तीनदेखि चार घण्टाको समय लाग्छ । ‘पैसा हुनेहरु वीरेन्द्रनगरमा कोठा भाडामा लिएर आफ्ना छोराछोरी पढाउँछन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ससबहादुर भण्डारीले भने, ‘केही नहुनेका छोराछोरी गाई–बाख्रा चराउन जंगल जान्छन् ।’
वडाध्यक्ष भारतीले नयाँ भवन निर्माणका लागि पहल भइरहेको बताए । उनले कोरोना संक्रमणका कारण पालिकाको बजेट घटेकाले नयाँ भवन तत्कालै भने बनाउन नसकिने बताए । ‘धेरै दुःख गरेर अघिल्लो वर्ष १६ लाख रुपैयाँ छुट्याउन सफल भएको थिएँ,’ वडाध्यक्ष भारतीले भने, ‘प्रअको बदमासीले भवन भन्न सकेन्, नयाँ भवन बनाउनका लागि पालिका र अन्य सरोकारवाला निकायमा कुरा भइरहेको छ ।’ साभारः नागरिक दैनिक ।