☰ open Loading... 16 November 2024|  

ग्यारेज बन्दै स्वास्थ्य संस्था
  | १८ फाल्गुन २०७७, मंगलवार १०:२७

हुम्ला, । सदरमुकाम सिमकोट देखि ४४ कोष टाढा पर्ने श्रीनगर स्वास्थ्य चौकी अहिले ग्यारेजमा परिणत भएको छ । अदानचुली गाउँपालिकाले वडा अध्यक्षहरूका लागि ल्याइएका दश वटा मोटरसाइकल अहिले बिरामी भएर श्रीनगर स्वास्थ्य चौकीमा भर्ना भएका छन् । स्वास्थ्य चौकीलाई मोटर साइकल ग्यारेज बनाउँदा स्वास्थ्य चौकी नै दुर्गन्धित भएको छ ।

अदानचुली गाउँपालिका वडा नं। ३ श्रीनगरमा रहेको स्वास्थ्य चौकीमा बिरामीको उपचारका लागि राखिएका बेड वरिपरि मोटरसाइकल राखिएका छन् । बिरामी निको हुन स्वास्थ्य संस्थामा जान्छन् तर ग्यारेजमा परिणत भएको श्रीनगर स्वास्थ्य चौकीमा स्वास्थ्य मान्छे गए पछि बिरामी हुने अवस्थामा रेहेको स्थानीय गोविन्द रोकायाले बताए ।

गाउँपालिकाको केन्द्र श्रीनगरमा रहेको स्वास्थ्य चौकीमा विगत ९ महिना देखी पालिकाका दस वटा सहित केही ब्याक्तिगत मोटरसाइकल स्वास्थ्य चौकी भित्र भण्डार गरी राखिएकाले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा स्थानीय सरकारका जिम्मेवार ब्यक्ती को लापरबाहीले स्वास्थ्य क्षेत्र नै प्रभावित भएको स्थानीय धनराज धामीले बताए । यी दश वटा मोटरसाइकल किनेको रकमले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र सुविधा सम्पन्न बनाउन सकिन्थ्यो । यसो नगरी वडा अध्यक्षहरूका लागि भनेर पालिकाले बाइक किन्यो बाइक किनेर फजुल रकममा खर्चिनु भन्दा यसको साटो एम्बुलेन्स, स्वास्थ्य उपकरण, औषधिका साथै बिरामी उपचारका लागि सहयोग गर्ने स्वास्थ्य सामाग्री खरिद गरेको भए कति उदाहरणीय काम हुन्थ्यो धामीले बताए ।

यसरी स्वास्थ्य संस्थामा सवारी साधन पार्किङ गर्नु नपर्ने हो यसले गर्दा स्वास्थ्य चौकीमा उपचारका लागि आएका बिरामीलाई असहज हुनुका साथै स्वास्थ्य चौकी दुर्गन्धित हुदा समस्या भएको छ । ठाउँ नहुँदा बाध्यताले स्वास्थ्य चौकी भित्र मोटरसाइकल राख्नु परेको श्रीनगर स्वास्थ्य चौकी इन्चार्ज रामेश्वर थापाले बताए । अबको केही महिनामा पालिकाले मोटरसाइकल राख्नका लागि अस्थायी कटेरो बनाउँदै छ घर बने पछि यो समस्या समाधान हुने उनको भनाई छ ।