☰ open Loading... 9 October 2024|  

चार कक्षामा पढ्दा बेचिएका बालक यूवा बनेर स्वदेश फर्किए तर आमाबुवा भेटाएनन्
  | ७ चैत्र २०७७, शनिबार २०:३२

सुर्खेत । चारकक्षामा पढ्ने बेलामा बेचिएका बालक यूवा भएपछि स्वदेश फकिएका छन् । कृष्ण कार्की नाम बताउने १९ वर्षीय यूवक अहिले सुर्खेतको वीरेन्द्रनगरस्थित लाटीकोइलीमा बसिरहेका छन् । कक्षा चारमा शिव माध्यामिक विद्यालय लाटीकोइलीमा पढ्ने कृष्णलाई उनका दाई (कान्छा बुवा धनवीर कार्कीको छोरा) प्रकाश कार्कीले भारतको दिल्लीमा बेचेको प्रकाश बताउछन् ।
हाल लाटीकोइलीस्थित खगेन्द्र कार्कीका घरमा बसीरहेका कृष्ण अहिले बेवारिसे जस्तै बनेका छन् । उनका बुवा–आमा पत्ता नलाग्दा उनी बेवारिसे बनेका हुन् ।
प्रहरी र स्थानीयले उनका बाबु–आमा पत्ता लगाउन प्रयास गरेपनि हालसम्म भेटिएका छैनन् ।
कृष्णले बाजेको नाम गोपाल कार्की, बाबु गणेश कार्की, आमा धौली कार्की भएको बताउँदै आएका छन् । यस्तै उनका परिवारमा भाई किशोर कार्की र बहिनी कल्पना कार्की पनि भएको बताएका छन् ।
उनले आफ्नो परिचय दिने क्रममा मामाहरु केशव विष्ट, लामसिंह विष्ट भएको र एउटा मामा नेपाल आर्मी भएको बताएका छन् । उनले आफ्नो मामाघर दैलेखको पश्चिम क्षेत्रमा भएको बताउछन् । ‘मामाको घर जानेबेला दैलेखको ठाँटीकाँध उता खोला तरेर उकालो जाँदा मन्दिर आउँछ’ कृष्णले भने, ‘मन्दिरको नजिकै मामाको पत्थरले छापेको घर छ ।’
चार कक्षामा पढ्दा दाइले आफूलाई बेचेको कृष्णले बताएका छन् । ‘चार कक्षामा पढ्ने बेला दाइले फकाएर भारतको दिल्ली लिएर सरदारको घरमा राखिदिए । मलाई चेलो भनेर राखेको थियो ।’ कृष्णले भने, ‘त्यो घरमा बस्दा घरमालिकलाई रातभर सपनामा सर्प देखिने, हिड्दा हिड्दै तर्सिने जस्ता अनेकन क्रियाकलाप हुन थालेछ । मलाई पनि देवता आयो । कामेँर म कालिका हुँ भनेपछि मालिक डराएर बालगृहलाई खबर ग¥यो ।’
घरमालिकको खबर गरेपछि भारतीय ‘सिडब्लु’ले प्रकाशलाई त्यहाँस्थित बालगृहमा राखेको उनी बताउछन् । ‘सिडब्लु’ले कृष्णका बारेमा बुझ्न खोज्दा घरमालिकले उनका लागि दाई प्रकाशलाई पाँच लाख भारतीय रुपैयाँ दिएको जानकारी दिएपछि आफू बेचिएको थाहा पाएको बताए । उनका अनुसार प्रकाश ती सरदारको एक कम्पनीको सुरक्षा गार्ड थिए ।
भारतको अनाथ आश्रममा रहेका कृष्ण नेपाल र भारतीय दुतावासको सहयोगमा काठमाडौं आउन सफल भएको बताए । उनलाई केही समय काठमाडौं चाहबीलस्थित बालसुधार गृहमा राखिएको थियो ।
‘म जहिलेपनि कापी कलम पाउने वित्तिकै आफ्नो नाम र ठेगाना लेख्ने गर्थे । नाम कृष्ण कार्की, ठेगाना सुर्खेत ८ लाटीकोइली, पहाड घर दैलेख ।’ उनले भने, ‘अनाथ आश्रमका मान्छेलाई घर ठेगाना बताएपछि मलाई अड्डासार गरी महेन्द्रनगरहुँदै सुर्खेत ल्याइएको हो ।’