यामराज बिष्ट दैलेख । बाघ र रेडपाण्डाकाे छालासहित आठ जना पक्राउ परेका छन् ।दैलेख प्रहरीले नारायण नगरपालिका–३, खुर्सानीबारीबाट आठ जनालाई शनिबार नियन्त्रणमा लिएको हाे । गोप्य सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। कर्णाली प्रदेश ०२– ००१ ज ००३६ नम्बरको डबल क्याप बोलेरो जीपमा नौमुले–२ बाट दैलेख सदरमुकामतर्फ आउदै गर्दा पक्राउ परेका हुन।
पक्राउ पर्नेमा नौमुले गाउँपालिका–३ का ५१ वर्षीय धनबहादुर मगर , २२ वर्षीय दलबहादुर खत्री, सोही गाउँपालिका वडा नम्बर १ का ३३ वर्षीय कविराम अधिकारी, वडा नम्बर २ का ३३ वर्षीय धनबहादुर पुरी, ४५ वर्षीय हस्तबहादुर थापा र ५६ वर्षीय धनबहादुर रावत, वडा नम्बर ४ का १९ वर्षीय रोशन बस्नेत र भगवतीमाई गाउँपालिका–१ का २७ वर्षीय गोविन्द थापा रहेका छन् ।
उनीहरू ३ फिट ३ इन्च लम्बाइ र ११ इन्च चौडाइ भएको रातो कालो रङको रेडपाण्डाको छाला, ५ फिट ९ इन्च लम्बाइ र १ फिट ५ इन्च चौडाइ भएको चितुवा जस्तो छाला देखिने राताे सेताे कालाे बुट्टेदार सहित पक्राउ परेको हुन्। यस्तै, उनीहरुबाट रेडपाण्डाको जस्तो देखिने ३ फिट लम्बाइ र १ फिट ६ इन्च गोलाइ भएको छाला र ३ फिट १ इन्च गोलाइ भएको रेडपाण्डाको जस्तो देखिने सिलाएको छाला पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ईन्द्रजित सुनारले जानकारी दिए । उनिहरुलाई नियन्त्रणमा लिई उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सुनारले बताए ।