खोटाङ – खोटाङ प्राकृतिक सहयोग कोषले आगलागी पीडित परिवारलाई आर्थिक सहयोग प्रदन गरेको छ । चैत १४ गते बिहान करिब साढे १० बजे भएको घर आगलागीमा करिब १२ लाख बराबरको धन सम्पति गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेस्थित डाँडाखर्कका रामबहादुर राईलाई खोटाङ प्राकृतिक सहयोग कोषले राहत स्वरुप १० हजार रुपैयाँ सहयोग गरेको हो । अग्नी पीडित परिवारलाई वडा सदस्य दिपक परियारद्वारा राहत सहयोग प्रदान गरिएको खोटाङ प्राकृतिक सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए ।
गाईबस्तुका लागि खोले पकाएर खेतबारीमा काम गर्न जाने क्रममा तिब्र गतिमा चलेको हावाका कारण चित्राबाट लागेको आगोले घर आगलागि भएको थियो । यस्तै,आगलागीबाट विस्थापित बनेका पीडित परिवारलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि आर्थिक सहयोग गरेको छ । नगरपालिकाले नगद २० हजार रकम सहयोग गरेको नगरपालिकाले जनाएको छ ।
यस्तै,पीडित राईलाई सोहि ठाउँको रमाइलो टोलले आर्थिक सहयोग प्रदान गरेको छ । आगलागीबाट विस्थापित बनेका राईलाई आवस्यक खाद्यान्न सामग्री साथै नगद ४ हजार ४ सय ५ रुपैयाँ आर्थिक सहयोग गरिएको देवेन्द्र राईले बताए । हाल पीडित राई उनका जेठा छोरा सब्जित राईको घरमा आश्रय लिएर बसिरहेका छन् ।
यस्तै,जिल्लाको केपिलासगढी गाउँपालिकाका आगलागी पीडित परिवारलाई पनि आर्थिक रकम सहयोग गरेको छ । केपिलासगढी गाउँपालिका वडा नम्बर – ३ बास्पानीका थामबहादुर राई सोही स्थानकै पदम बहादुर राई र वडा नम्बर –४ सप्तेश्वरका चन्द्रमणि राईलाई केपिलासगढी गाउँपालिका प्रतिनिधि साथै वडा कार्यालयका सदस्यमार्फत प्रति परिवार १० हजारका दरले आर्थिक रकम सहयोग गरिएको कोषाध्यक्ष राईले जानकारी दिए ।
| १८ चैत्र २०७७, बुधबार ०७:५५