☰ open Loading... 25 February 2025|  

सल्यानमा पहिलो पटक व्यवसायिक कालिज पालन
  | ४ बैशाख २०७८, शनिबार १७:४३

सल्यान – सल्यानमा पहिलो पटक व्यवसायिक कालिज पालन सुरू गरिएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–१ गैरी कटेरीमा पहिलो पटक कालिजको व्यावसायिक पालन सुरू भएको हो।

कालिजको स्वादको पारखी बढ्न थालेपछि गैरी कटेरीका कमानसिह केसीले झण्डै १० लाख लगानीमा ‘रिङग नेक’ जातको कालिज पालन सुरू गरेका छन्। २०७६ फागुनमा महाभारत कालिज फर्म दर्ता गरेर कालिज पालन सुरू गरेको केसीले बताए।

जंगलमा पाइने कालिज नेपालमा संरक्षित पंक्षी भएकाले मार्न प्रतिबन्ध छ। तर, अहिले विभिन्न प्रजातिका कालिज व्यवसायिक रुपमा पाल्न थालेपछि हरेकका भान्साको रोजाई बन्दै गएको छ।

पछिल्लो समय कालिजको माग अत्याधिक बढ्न थालेपछि व्यवसायमा लागेको उनले सुनाए। ‘सरकारले ल्याएको नयाँ कानुनसँगै बेल्जियमबाट आएको ‘रिङग नेक’ जातको कालिज व्यवसायिक उत्पादनमा लागेको छु’ उनले भने,‘३७ वटा कालिजबाट व्यवसाय सुरू गरेका केसीले यस वर्षभित्रै दुई सय कालिज बढाउने लक्ष्य छ। ‘कालिजले अण्डा दिन थालिसकेका छन्।​ ह्याचरीको माध्यमबाट चल्ला उत्पादनमा लागेका छौं। यस वर्षभित्रै दुई सय कालिज पाल्ने र बाँकी विक्री गर्ने योजना बनाएको छु।’ करिब ६ महिना पालेपछि मात्र कालिजको मासु खान योग्य हुने उनले बताए।

एक दिने चल्लालाई प्रतिगोटा चार सय रुपैयाँमा पोखराबाट ल्याएको कालिज बजारसम्म पुग्दा तीन हजारदेखि चार हजारसम्ममा विक्री गर्न सकिने उनको भनाई छ। कालिज उत्पादन नहुँदै बजार र गाउँबाट अत्याधिक माग आउने गरेको केसीले सुनाए। तीन वर्षसम्म स्काभेटर चलाएका केसीले आफ्नै गाउँमा अहिले कालिज पालनमा लागेको उनको भनाई छ।थाहा खबरबाट