सल्यान – सल्यानको कपुरकोट गाउँपालिका–३ का भक्तबहादुर घर्तीलाई केही वर्षअघिसम्म जीविकोपार्जनका लागि हम्मेहम्मे थियो । परिवारको खर्च टार्न समस्या भएपछि उनले तरकारी तथा फलफूल पसल सुरु गरे । त्यसबाट उनी घाटामा परे । तीन वर्षअघिदेखि उनले थालेको बंगुरपालन व्यवसाय भने फस्टाउँदै गएको छ ।
उनले व्यवसायबाट मासिक ७५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । बंगुरपालन व्यवसायमा लागेपछि परिवार पाल्न उनलाई सहज भएको छ । बंगुरको माग बढ्नुका साथै राम्रो मूल्य पाउन थालेपछि उनले ०७२ देखि व्यावसायिक बंगुरपालन व्यवसाय सुरु गरेको घर्तीले बताए । सुरुमा २० हजार रुपैयाँ लगानीमा दुईवटा बंगुर पालेका उनको खोरमा अहिले ९० वटा बंगुर छन् ।उनले डिग्रो, धरानी र पोखरेली जताका बंगुर उत्पादन गरिरहेको बताए । स्थानीय बजारमा प्रतिकिलो दुई सय ७० रुपैयाँमा जिउँदो बंगुर बिक्री भइरहेको छ ।
| १० बैशाख २०७८, शुक्रबार ०७:३८