जाजरकोट – भारतबाट फर्किएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन्। सीमा नाकामा कुनै पनि स्वास्थ्य जाँच नगरी उनीहरूलाई घर पठाइएको छ।
उनीहरूलाई मास्क लगाउन मात्र उर्दी जारी गरिएको छ। भारतका विभिन्न ठाउँबाट फर्किएका सयौं जना सर्वसाधारण जाजरकोट पुगेका छन्।
प्रहरीले सदरमुकाममा ‘कोरोनाबाट बच्न मास्क लगाऔँ’ जस्ता नारा लगाएर बजार परिक्रमा गरे पनि अन्य कुनै पनि निकायले सतर्कता अपनाएको स्थानीयहरू बताउँछन्। जिल्ला अस्पतालमा समेत दुई शय्याको आइसोलेसनबाहेक अन्य कुनै पनि व्यवस्थापन गरिएको छैन।
ठाउँ अभावमा आइसोलेसन बनाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ। नयाँ अस्पतालको भवन बन्दै गरेको र अधिकांश पुराना भवन भत्काउँदा व्यवस्थापनमा समस्या भएको हो। अक्सिजन प्लान्ट खरिदका लागि बोलपत्र आह्वान गरे पनि अहिलेसम्म खरिद भएको छैन। दुइ वर्षदेखि एम्बुलेन्स नहुँदा जिल्ला अस्पतालमा बिरामी ल्याउन र लैजान समस्या हुँदै आएको छ।
संक्रमितको संख्या बढ्दै
जाजरकोटमा विगत दुई दिनमा कोरोना संक्रमितको संख्या बढेको छ। स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा मात्र संक्रमितको संख्या २० नाघेको छ।
कोरोना जाँचका लागि आएकामध्ये ८० प्रतिशतलाई कोरोना देखिएको छ। भारत तथा अन्य ठाउँबाट आएका सयौं सर्वसाधारणको जाँच गर्न बाँकी रहेकाले अझै ठूलो संख्यामा कोरोना संक्रमित भएको हुनसक्ने कार्यालयले जानकारी दिएको छ।
अधिकांश यार्सा संकलनतिर
भारतबाट कमाइ नभएको भन्दै केही सर्वसाधारण उपल्लो डोल्पाका पाटनमा यार्सागुम्बा संकलन गर्न गएका छन्। नाकामा जाँच नहुँदा जहाँ गए पनि स्वतन्त्र भएका कारण सर्वसाधारण एक ठाउँबाट अर्को ठाउँमा जान पाएका हुन्।थाहा खबरबाट