हुम्लामा कोरोना सङ्क्रमणको दिनप्रति दिन बढ्न थालेपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०ले आज राति १२ बजेदेखि २८ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । सोमबार बसेको जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले आदेशको पालना गर्न जिल्लाभरका सबैमा आग्रह गरेका छन् ।
निषेधाज्ञाको समयमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ । जिल्लाका स्थानीय तह, राजनीतिक दल र अन्य सरोकारवाला निकायको प्रतिनिधित्वमा बसेको बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जलाउन हरेक गाउँपालिकामा सद्गदस्थलको छनोट गर्न सम्बन्धित गाउँपालिकालाई दुई दिनको समय दिने निर्णय गरेको छ ।
आजबाट हवाई यातायात सेवासमेत बन्द हुने भएको छ भने जिल्लाको दक्षिणी क्षेत्रमा रहेका मुख्य नाका कवाडी, बालुकुना र चङ्खेली नाकासमेत शिल गरिएको छ । एक हप्ताको निषेधाज्ञा अवधिमा एक पालिकाबाट अर्को पालिकामा आवतजावतसमेत बन्द गरिएको छ । सोमबार बिहान नेपालगञ्ज हुँदै हुम्ला पुगेका ४० जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा आठ जनामा कोरोना देखिएको थियो ।