☰ open Loading... 27 November 2024|  

कोरोनाका कारण वैदेशिक रोजगारी ठप्प
  | २१ बैशाख २०७८, मंगलवार १२:१९

काठमाडौं – कोरोना भाइरसका कारणआगामी बिहीबारदेखि वैदेशिक रोजगार ठप्प हुने भएको छ । सरकारले वैशाख २३ गते लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगारीमा जाने कामदार रोकिने भएका हुन् ।

 

सरकारले राजधानीमा लगाएको निषेधाज्ञा आदेशको अवस्थामा वैदेशिक रोजगारमा जाने नरोकिने बताएको थियो । तर आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि सरकारको यसअघिको वैदेशिक रोजगारमा जान नरोकिने निर्णय अर्थहीन बन्न पुगेको छ । नेपाली कामदारका गन्तव्य मुलुक खासगरी साउद, कतार, यूएईलगायतका देशमा अर्थतन्त्रले लय पक्रिँदा विदेशी कामदारको माग बढेपछि पछिल्ला दिनमा वैदेशिक रोजगारले मध्यम गतिमा भएपनि लय समाउन थालेको थियो ।

 

सरकारले नेपाल र भारतबीच सातामा दुई वटा मात्रै उडान कायम राख्ने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णयले वैदेशिक रोजगारीमा जाने सम्पूर्ण तयारी पूरा गरेका कामदार समस्यामा परेको वैदेशिक रोजगार व्यवसायीहरुले बताएका छन् । वैदेशिक रोजगारमा जाने अधिकांश कामदारले फिर्ता नहुने सस्तो टिकट लिएका कारण उनीहरु समस्यामा पर्ने बताइएको छ ।

 

नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदर मात्र नभई वैदेशिक रोजगारीबाट घर फर्किनेहरु पनि समस्या पर्ने देखिएको छ । नेपालले अन्तर्राष्ट्रिय उडानमा अस्थायी प्रतिबन्ध लगाएपछि स्वदेश फर्किने कामदारहरु दबाबमा रहेको र हवाई टिकट पनि महंगिएको बताइएको छ ।