मुगु । मुगुमा दिन प्रति दिन कोरोना संक्रमितको संख्या बढेसँगै आज राति १२ बजेदेखि निषेधाज्ञा गरिने भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन समितिको मंगलबार बसेको बैठकले २२ गते बुधबार राति १२ बजेदेखि लागू हुने गरि बैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय पारित गरेको हो ।
विशेषगरी मुगु जिल्लामा दैनिक कोरोना संक्रमितको संख्या बढेको र छिमेकी जिल्लाहरुमा पनि निषेधाज्ञा गरिएको हुनाले मुगुमा पनि निषेधाज्ञा गरिएको हो । निषेधाज्ञा अवधिभर शान्ति सुरक्षा स्वास्थ्य, विद्युत सूचना तथा सञ्चार खानेपानी, ग्यास, पेट्रोल, तरकारी, खाद्यान्न, औषधीलगायत अत्यावश्यक सेवाहरु मात्र सञ्चालन गर्न पाइने बैठकले निर्णय गरेको छ ।दैनिक उपभोग्य बस्तु खाद्यान्न, तरकारी पसल, फलफुल, ग्यास पसलहरु बिहान ९ बजे देखि १२ सम्म मात्र खोल्न पाइने बैठकले निर्णय गरेको छ ।
त्यस्तै, एम्बुलेन्स, दमकल, शवबाहन, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुको हकमा सम्बन्धित कार्यालय प्रमुखले आलोपाले मिलाएर एक चौथाई कर्मचारी उपस्थित गराएर सन्चालन गर्ने भनिएको छ ।