रुकुम पश्चिम -कोरोना रोकथाम तथा नियन्त्रणका लागि रुकुम पश्चिमका स्थानीय तहहरु जुटेका छन् ।नागरिकको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय तह आफ्नो पालिकामा रहेका संक्रमितको उपचार, रोकथाम तथा कोरोना नियन्त्रणका लागि जुटेका हुन् ।
जिल्लाको चौरजहारी नगरपालिकाले ६२ वटा आइसोलेसन बेड तयार पारेको छ। जसमा १५ वटा अक्सिजन सहितको बेड रहेको नगरप्रमुख विशाल शर्माले जानकारी दिए । उनले भने, ‘आपतकालीन अवस्थाको लागि हामीसँग दुई वटा एम्बुलेन्स तयारी अवस्थामा छन् । अस्पतालमा बेड अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आइसोलेसन बेडहरु थप्दै छौँ । अक्सिजनको कमी भएन भने, हामीलाई बेड थप्न कुनै समस्या छैन ।’
त्यस्तै चौरजहारीको खोलागाउँ र कोटजहारी स्वास्थ्य चौकीमा पनि १५/१५ शय्याको बेड तयारी अवस्थामा राखिएको नगरप्रमुख शर्माले बताए । उनी भन्छन्,’हामी उच्च सतर्कताका साथ जनताको सेवामा खटिरहेका छौँ । यो समय सबै मिलेर रोग नियन्त्रण गर्ने भएकोले हेल्थ डेस्क, जनचेतनामूलक सन्देश र स्वास्थ्य मापदण्डअनुसार जनशक्ति परिचालन गरिरहेका छौँ ।’
अहिले नगरपालिकामा देशका अन्य शहरहरुबाट आउने ब्यक्तिहरु भन्दा नगरपालिका भित्रका कर्मचारी, शिक्षक तथा सर्वसाधारणमा कोरोना संक्रमण बढी देखापरेको छ।
त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष निर्मला बिष्ट (खड्का) भन्छिन्, ‘हाम्रो गाउँपालिकामा उपलब्ध स्रोत साधनको प्रयोग गरेर यो महामारीसँग डटेर लडेका छौँ । त्रिवेणी गाउँपालिकामा ७ वटा अक्सिजन सहितका बेडहरु छन् । गाउँपालिकामा अक्सिजन सहितका बेडहरु उपलब्ध भएपछि यहाँका पालिकावासीहरु हर्षित बनेका छन् ।’
गाउँपालिकाको एम्बुलेन्स पूर्णरुपमा कोरोना संक्रमितको ओसारपसारमा लागेको उपाध्यक्ष खड्काले जानकारी दिइन् ।उनले भनिन्, ‘यो जटिल अवस्थामा आइपर्ने अप्ठ्यारोलाई ध्यानमा राखी जिल्लाका निजी अस्पतालसँग पनि सहकार्य र समन्वय गरेका छौँ । अहिले हामीसँग १६ वटा बेड तयारी अवस्थामा छन् । तर संक्रमणदर बढ्दै गए यो पनि अभाव हुनसक्छ । तसर्थ प्रदेश, संघीय सरकारले स्थानीयतहको अवस्थालाई बुझेर थप स्रोत साधनको मात्रा बढाउनको लागि सहयोग गर्न जरुरी छ।’
कोभिड–१९ को महामारी समुदाय स्तरमा फैलिसकेको अवस्थामा एन्टिजेन परीक्षणको दायरा बढाउने, वैदेशिक रोजगार, छिमेकी मुलुक र नेपालका अन्य मुख्य शहरबाट फर्किएका व्यक्तिहरुको अभिलेख राख्ने र होम क्वारेन्टाइनमा राख्ने लगायत एन्टिजेन परीक्षणका लागि आवश्यक जनशक्ति परिचालन गरिएको आठबिसकोट नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख गोर्ख बहादुर केसीका अनुसार कोरोना भाइरस संक्रमण पहिचानका लागि स्वाब संकलन परीक्षण लगायतका कामहरु तिव्ररुपमा गरिएको छ । उनले भने, ‘हामीले कोरोना भाइरसका संक्रमितलाई अक्सिजनको अभाव हुन नदिनको लागि कन्सन्टेटर मेशिन खरिद गरेका छौँ । ५ लिटरका ३ वटा मेशिनबाट ७ जनालाई एकै साथ अक्सिजन चढाउन सकिन्छ । थप अक्सिजन खरिदको लागि हामी लागि परेका छौँ ।’
त्यस्तै जिल्ला सदरमुकाममा रहेको मुसीकोट नगरपालिकाले ५० जना विरामीको उपचार गर्ने गरी ५० शय्याको कोभिड अस्पताल सञ्चालन गरेको छ । जसले गर्दा संक्रमितका लागि अभाव हुने आइसोलेसन बेडको समस्या टरेको छ ।
सानीभेरी र बाँफिकोट गाउँपालिका पनि कोरोना नियन्त्रणमा जुटेका छन् । सानीभेरी गाउँपालिकामा भने प्रायः बिरामीहरु होम आइसोलेसनमा रहेका छन् । यहाँ कोरोना संक्रमण भन्दा पनि बढी बिरामी अन्य रोगबाट ग्रसित छन् ।
गाउँपालिकाका अध्यक्ष नर बहादुर पुनले भने, ‘कोरोना संक्रमितको लागि पालिकाकै अस्पतालमा आइसोलेसन बेड र अक्सिजनको व्यवस्था भैरहेको छ। अहिले मौसम परिवर्तनका कारण ज्वरो, झाडापखाला लगायतका बिरामीहरु बढी देखापरेका छन् । ती सवैको अवस्था सामान्य नै भएकोले तत्कालै आत्ति हाल्नुपर्ने छैन । आपतकालीन अवस्थाको लागि हामीसँग जनशक्ति र स्रोत साधन तयारी अवस्थामा रहेको छ ।’रुकुम पश्चिममा ६ वटा स्थानीय तह छन् । ६ वटै स्थानीय तह कोरोना नियन्त्रणका लागि सक्रियताका साथ जुटेका छन् ।