जाजरकोट- गत वर्ष मंसिरमा ठेक्का लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अहिले सम्म पुगेको छैन।शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङमा ठेक्का सम्झौता भएको ६ महिना पूरा भइसक्दा पनि उपल्लो डोल्पामा चामल नपुगेपछि स्थानीयवासी खाद्यान्न अभावको समस्या भोगिरहेका छन्।
कम्पनीले गत वर्ष साल्दाङका लागि एकहजार पाँचसय क्वीन्टल चामलको कोटा निर्धारण गरेको थियो। खाद्यान्न ढुवानीको ठेक्का लिएको बाँकेको दिनेश ढुवानी सेवाको ढिलासुस्तीले साल्दाङमा ६ सय क्वीन्टल खाद्यान्न मात्र पुगेको छ।
उक्त सेवाले छार्काताङसोङ, डोल्पोबुद्ध र शे– फोक्सुन्डो गाउँपालिकामा चामल ढुवानीको ठेक्का लिएको थियो। दुई स्थानीय तहको चामल पुगेपनि साल्दाङमा भने अहिले सम्म पुगेको छैन। गत वर्षकै ठेक्काबाट छार्काताङसोङको ढारगाउँमा सातसय र डोल्पोबुद्धको धोमा आठसय ७५ क्वीन्टल चामल पुगेर वितरण भइसकेको लिमिटेडले जनाएको छ।
चिसो र हिमपातका कारण चामल पुर्याउन केही समय ढिला भएको लिमिटेडका शाखा प्रमुख कमलराज पाण्डेले बताए। ‘चामल दुनै आएर थन्किएको छ। ठेकेदारलाई छिटो लिन आग्रह गरिएको छ’ पाण्डेले भने। केही चामल सुर्खेतबाट डोल्पा पुग्ने बाटोमा छ।
माथिल्लो डोल्पामा अनुदानको चामल पुगेपछि स्थानीयले सस्तो मूल्यमा चामल पाएका छन्। यसअघि स्थानीयलाई प्रतिक्वीन्टल २० हजार रुपैयाँ तिरेर बजारको चामल किन्नुपर्ने बाध्यता थियो। कम्पनीले जिरा मसिनो चामल सातहजार र सोना चामल पाँच हजार ६ सय रुपैयाँमा उपलब्ध गराइरहेको शाखा प्रमुख पाण्डेले बताए।कोटा अनुसार चामल नपुग्दा गाउँमा खाद्यान्न समस्या भएको शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष टसितुन्डुप गुरुङले बताए।