| ३० बैशाख २०७८, बिहीबार २०:४०
कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा अग्रपंक्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पीपीई सेट सहयोग गरिएको छ। गिरिजाप्रसाद कोइराला फाउण्डेशनले प्रदेश अस्पताल कालागाउँ र नगर अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पीपीई सेट सहयोग गरेको हो। आज प्रदेश अस्पतालमा नेपाली काँग्रेसका सभापति कमलराज रेग्मीले प्रदेश अस्पतालका डा. नवराज केसीलाई ५० सेट पीपीई हस्तान्तरण गर्नुभएको हो। सभापति रेग्मीले कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिएका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पीपीई सेट सहयोग गरिएको बताउनुभयो। उहाँले सहयोग सानो भएपनि मानवीय भावनाका कारण स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्न पीपीई सेटले सहयोग पुग्ने जिकिर गर्नुभयो। डा. नवराज केसीले कोरोनाको संक्रमण दर बढ्दै गएजसरी मानवीय भावना पनि बृद्धि हुँदै गएको बताउनुभयो। उहाँले मानवीय भावनाले सहयोग थोरै भए पनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। जीपी कोइराला फाउण्डेशनका संयोजक ललित भट्टराई, काँग्रेस क्षेत्रीय सचिव गणेशकुमार पन्तलगायतको उपस्थिति थियो। यसैगरी कटकुवास्थित नगर अस्पताललाई पनि २५ सेट पिपिई वितरण गरिएको छ ।