गतबर्ष पनि रोजीरोटीका लागि गाउँ छोडेका अधिकांश नागरिकहरु गाउँ फर्किए । तर संक्रमण अहिलेको जस्तो थिएन । किनकी गाउँमा बलियो पूर्वतयारी थियो । त्रासले भए पनि बाहिरबाट फर्किएकालाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राखिन्थ्यो ।
क्वारेन्टाइनमै कोरोना परीक्षण पनि गरिन्थ्यो । संक्रमित भए त्यहीबाट आइसोलेसन तथा अस्पतालमा पु¥याइन्थ्यो । यही कारण गतबर्ष धेरैपछि मात्रै गाउँमा कोरोना पुगेको थियो । तर योबर्ष कर्णालीका कुनै पनि जिल्लामा क्वारेन्टाइन छैनन् । विदेश तथा शहरबाट आउनेहरु सिंध गाउँ पुग्छन् । घरपरिवार र आफन्तसँग घुलमिल हुन्छ । परिणामतः तोकिएको समयसम्म क्वारेन्टाइनमा नबस्दा कर्णालीका गाउँ–गाउँमा कोरोना संक्रमण फैलिएको छ ।
‘गतबर्ष क्वारेन्टाइनहरु थिए, संक्रमण थोरै थियो’ मुगुका कोरोना फोकलपर्शन ज्ञानसिंह बुढाले भने, ‘योबर्ष त गाउँ–गाउँमा कोरोना फैलिएको छ ।’ भारतबाट आउने नागरिकहरु क्वारेन्टाइनमा नबस्ने र सबैसँग घुलमिल हुँदा गाउँभरी कोरोना फैलिएको उनको भनाइ छ । दुर्गम क्षेत्रमा कोरोना फैलिएपछि नियन्त्रणका लागि चुनौती थपिएको बुढाले बताए । ‘सबै गाउँमा कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका विरामीहरु छन्’ उनी भन्छन्, ‘सबै ठाउँमा परीक्षणसमेत गर्न भ्याएका छैनौँ ।’
जनशक्ति अभाव र भौगोलिक विकटताका कारण सबै क्षेत्रमा परीक्षणमासमेत समस्या भएको उनले बताए । यो बर्ष मुगुका गाउँ–गाउँमा कोरोना संक्रमण फैलिएको भन्दै नियन्त्रणमा ठूलो चुनौती थपिएको जिल्ला अस्पताल मुगुका डाक्टर कविराज पौडेल बताउँछन् । ‘जिल्लाभर नै कोरोना संक्रमण फैलिएको छ, तर परीक्षण नै गर्न भ्याएका छौनौं’ उनी भन्छन्, ‘जटिल प्रकृतिका लागि जिल्लामा उपचार सम्भव छैन ।’
अक्सिजन र जनशक्ति अभावका कारण जटिल प्रकृतिका संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञाप प्रतिष्ठान जुम्ला पठाउने गरिएको उनले बताए । ‘अस्पतालमा अक्सिजन र जनशक्तिको अभाव छ’ उनले भने, ‘अक्सिजन र जनशक्ति अभावकै कारण आईसीयू र भेन्टिलेटर प्रयोगमा आएका छैनन् ।’ त्यहाँ मिनी अक्सिजन प्लान्ट सञ्चालनको तयारी गरिएको छ । त्यस्तै हुम्लामा पनि कोरोना संक्रमण उसैगरी फैलिएको छ ।
गतबर्ष लामो समयसम्म कोरोना मुक्त भएको हुम्लामा यो बर्ष गाउँगाउँमा कोरोना फैलिएको छ । ‘गतबर्ष जिल्ला प्रवेशमै कडाइ गरिएको थियो, गाउँ आउनेहरु सबैलाई क्वारेन्टाइनमा बसालिन्थ्यो’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख प्रेमबहादुर सिंहले भने, ‘गाउँमा क्वारेन्टाइन नभएकै कारण गाउँ–गाउँमा कोरोना फैलिएको हो ।’
सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालन नगर्दा हुम्लाका गाउँभरी नै संक्रमण फैलिएको उनको तर्क छ ।
‘हामीले नियमअनुसार गाउँ आएकालाईहोमआइसोलेसनमा बस्न भनेका छौं, तर कोही पनि आइसोलेसनमा बसेनन्’ उनी भन्छन्, ‘शहरबाट आउनेहरुबाटै गाउँभरी कोरोना फैलियो ।’ अधिकांश व्यक्तिहरु लुकेर गाउँ पसेका र तोकिएको अवधिसम्म होमआइसोलेसनमा नबसेकै कारण गाउँ–गाउँमा कोरोना फैलिएको छ ।
हुम्लामा भेटिएका जटिल प्रकृतिका संक्रमितलाई पनि उपचारका लागि जुम्ला नै पठाउने गरिएको छ । पछिल्लो एक हप्तामा मात्रै हुम्लाका दुई जना संक्रमितलाई उपचारका लागि जुम्ला रिफर गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै डोल्पामा पनि उस्तै छ । गतबर्ष जिल्ला सदरमुकाममा मात्रै संक्रमण फैलिएको डोल्पामा यो वर्ष गाउँ–गाउँमा संक्रमण पुगेको छ ।
‘कोरोना परीक्षण नगरेरै नागरिकहरु गाउँ पुगे’ डोल्पाका कोरोना फोकलपर्शन टेकबहादुर गुरुङले भने, ‘संक्रमण गाउँगाउँमा पुग्दा नियन्त्रणमा चुनौति थपिएको छ ।’ जिल्लामा संक्रमण फैलिए पनि सबैको स्थानमा परीक्षण भएको छैन । त्यहाँ पनि जटिल प्रकृतिका संक्रमितलाई उपचारका लागि जिल्ला बाहिर लिनुपर्ने बाध्यता छ ।
डोल्पा, हुम्ला र मुगु मात्रै होइन, कर्णालीका प्राय गाउँहरुमा कोरोना संक्रमण फैलिसकेको छ । कोरोना नियन्त्रणमा प्रभावकारी योजना नहुँदा गाउँ–गाउँमा संक्रमण फैलिएको हो । गतबर्ष मुगु, हुम्ला र जुम्ला लामो समयसम्म संक्रमण मुक्त थिए ।
यी स्थानीय तहमा छन् एकसयभन्दा धेरै संक्रमित
कर्णालीका अधिकांश स्थानीय तहमा एकसयभन्दा बढी संक्रमित छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा दुई हजार तीनसय ९१ जना संक्रमित संक्रमित छन् । सुर्खेतकै गुर्भाकोटमा एकसय ६६, चौकुनेमा एकसय ७८, भेरीगंगामा एकसय २२ र पञ्चपुरीम एकसय १२ जना संक्रिय संक्रमित छन् ।
त्यस्तै कालिकोटको खाँडचक्र नगरपालिकामा एकसय ५५ जना, सल्यानको त्रिवेणी गाउँपालिकामा एकसय ३२ जना र रुकुमपश्चिमको मुसिकोट नगरपालिकामा एकसय ९५ जना संक्रमित संक्रमित छन् । कर्णालीका अन्य स्थानीय तहमा भने एकसय भन्दा थोरै संक्रमित छन् । प्रदेशमा शुक्रबारसम्म कुल ६ हजार ९१ जना संक्रिय संक्रमित छन् ।
कार्मारोङले माग्यो स्वास्थ्यकर्मी
कोरोना महामारीसँग लड्न मुगुको मुगमकार्मारोङ गाउँपालिकाले करारमा स्वास्थ्यकर्मी माग गरेको छ । गाउँपालिकाले मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट, स्टाफनर्स र ल्याव असिस्टेन्ट एक÷एक जना, अहेव र अनमी दुई÷दुई जना माग गरेको गाउँपालिकाले जनाएको छ ।
कोरोना संक्रमणलाई थप फैलन नदिन करारमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले बताए । मुगमकार्मारोङ मगुको सबैभन्दा दुर्गम गाउँपालिका हो ।
उपचार नपाएरै मृत्यु
यसैबीच उपचारको अभावमा सल्यानमा एकजना कोरोना आसंकितको मृत्यु भएको छ । मृत्यु हुनेमा बनगाडकुपिन्डे नगरपालिका–७ का भोलाबहादुर वुढा छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बिहीबार राती नगरपालिकाको आइसोलेसन पु¥याइएको थियो ।
तर स्वास्थ्यकर्मीले त्यहाँ विरामीको उपचार सम्भव नभएको भन्दै जिल्ला अस्पताल वा प्रदेश अस्पताल सुर्खेत लैजान भनेका थिए । एम्बुलेन्स कुर्दाकुर्दै उनको शुक्रबार विहान मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका उनको पीसीआर परीक्षणका लागि स्वाव सुर्खेत पठाइएको छ । मृतकका आफन्तहरुले पनि नगरपालिकाले समयमा एम्बुलेन्स उपलब्ध गराउन नसक्दा विरामीले अकालमा ज्यान गुमाउनु परेको आरोप लगाएका छन् ।युगआह्रवानबाट