☰ open Loading... 25 November 2024|  

संक्रमितको घरमै औषधि
  | १० जेष्ठ २०७८, सोमबार १०:५४

सुर्खेत-कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई वीरेन्द्रनगर नगरपालिकाले घरमै पुगेर औषधि वितरण सुरु गरेको छ । नगरप्रमुख देवकुमार सुवेदी आफै संक्रमितहरुको घरघरमा पुगेर आवश्यक औषधि र अन्य सामाग्रीहरु आफैं पुगी वितरण थालेका हुन् । नगरपालिकाले पारासिटामोल, जीवनजल, जिंक चक्की, एजिथ्रोमाइसीन, भिटामिन बि र सी, साबुन, कोलगेट, ब्रससहितको ‘कोरोना कीट’ तयार पारेको छ ।

‘संक्रमितहरुको घरघरमै पुगेर विरामीहरुलाई आवश्यक औषधि र परामर्श दिने गरेका छौं,’ मेयर सुवेदीले भने, ‘जनप्रतिनिधिसँगै स्वास्थ्यकर्मीहरुको टोली पनि सँगै हुन्छ ।’ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको पालिका हो। शनिबारसम्म वीरेन्द्रनगरमा सक्रिय संक्रमितहरुको संख्या १६१२ जना छ ।

मेयर सुवेदीले स्वास्थ्य सामाग्रीसँगै स्वास्थ्य मापदण्ड पालना गरेर नगरेको अनुगमन पनि गर्ने गरिएको बताए । कोरोना संक्रमितहरु होम आइसोलेसनमा बस्ने नगरेको, संक्रमण लुकाएर घुम्ने गरेकोलगायतका गुनासाहरु आउने गरेकाले कोरोना कीटसँगै अनुगमनलाई पनि तीव्रता दिइएको मेयर सुवेदीले बताए ।

नगरपालिकाले संक्रमितहरुको अक्सिजन नियमित चेकजाँच गर्छ। अक्सिजनको मात्रा कमि भएकाहरुलाई आफैले सञ्चालन गरेको नगर अस्पतालमा पुर्‍याउँछ । ‘यसले गर्दा संक्रमितहरुको मनोबल बढ्नुका साथै नगरबासीहरुले नजिकको सरकारको अनुभूति गर्न पाउनु भएको छ,’ उनले भने, ‘संक्रमित रहेका सबै वडाहरुमा स्वास्थ्यकर्मीसहित जनप्रतिनिधिको टीम पुग्ने गरेको छ ।’

नगर स्वास्थ्य शाखाका प्रमुख भूपेन्द्रदेव गिरीले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्यकर्मीहरुको टोली नियमित संक्रमितहरुको घरघरमा पुग्ने गरेको बताए । उनले सोमबार, बुधबार र शुक्रबार निःशुल्क पीसीआर परीक्षणका साथै संक्रमण बढी देखिएका वडा नं। २, ३, ८ र १२ मा एन्टिजिन परीक्षणलाई तिब्रता दिइएको बताए ।