☰ open Loading... 26 November 2024|  

कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग
  | १२ जेष्ठ २०७८, बुधबार २०:४६

हुम्ला, जेठ-१२ । जिल्लामा कोरोना कहर बढी रहेका बेला स्वास्थ्य सेवा कार्यालय हुम्लालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । बिगत लामो समय देखि जिल्लामा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आएको आधार विकास नेपाल हुम्लाद्धारा जिल्लामा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग होस भन्ने हेतुले बुधबार एक कार्यक्रमका बीच स्वास्थ्य सेवा कार्यालय हुम्लालाई ३ लाख १८ हजार ९ सय रुपैयाँ बरावरको बिभिन्न स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको छ ।

स्वास्थ्य सेवा कार्यालय हुम्ला र कोभिड १९ संकट व्यवस्थापन समितिको सदरमुकाम सिमकोटमा रहेको क्वारेन्टाइन र आइसुलेसनका लागि स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको आधार विकास नेपाल हुम्लाका शिक्षा अधिकृत कुन्जोक लामाले बताए ।

जिल्लामा कोभिड १९ को दोस्रो लहर समुदाय स्तरमा फैलीए पछि दिन प्रतिदिन संक्रमितहरुको संख्या बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणमा सहयोग पुगोस भनेर स्वास्थ्य सामग्री सहयोग गरिएको अधिकृत लामाले बताए ।

बुधबार बिहान ९ बजे स्वास्थ्य सेवा कार्यालयमा एक कार्यक्रमका बीच जिल्ला कोभिड संकट व्यवस्थापन समिति हुम्लाका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको रोहवरमा अक्सिजन कन्सनटेटर १ थान, केएन ९५ मास्क ५ सय थान, सर्जिकल मास्क ६ हजार थान, स्यनीटाइजर ९६ बोतल, सर्जिकल गल्वस ६ सय थान, पिपि सेट १० वटा, बुट पाँच थान, फेस सिल्ड ३० थान, पेट्रोल १ सय ५ लिटर र डिजेल १ सय ५ लिटर लगायतका अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।