काठमाडौं ।कोरोनाका कारण शैक्षिक सत्र दुई महीना पछाडि धकेलियो । महामारीको दोस्रो लहर तीव्र बनेपछि एसईई र कक्षा १२ का विद्यार्थीको परीक्षा हुन सकेन । जेठको दोस्रो हप्ता बित्न लाग्दा पनि परीक्षा विधि एवं तालिका निश्चित हुन नसकेपछि विद्यार्थी अन्योलमा छन् भने अभिभावक आफ्ना बालबालिकाको भविष्य के हुने भन्ने तनावमा छन् ।
करीब १० महीना बन्द भएको विद्यालय कोरोना संक्रमण दर कम हुँदै गएपछि खुल्न शुरु भएको थियो । भौतिक रुपमा पुनः पठनपाठन शुरु भएको केही महीनामै महामारीको दोस्रो लहर फैलियो । त्यसले फेरि वैकल्पिक माध्यममा जानुपर्ने स्थिति आयो । परीक्षाको मिति तय भइसकेपछि विद्यालय बन्द भए । अहिले केही स्थानीय तहले आन्तरिक मूल्यांकन विधिबाट नतिजा सार्वजनिक गर्न भनिरहेका छन् ।
तर राष्ट्रिय परीक्षा बोर्डले जिम्मा पाएको एसईई र १२ को परीक्षाको भने विधि र मिति अझै निश्चित भएको छैन । अहिलेसम्म कुन विधिमा परीक्षा हुने भन्ने निश्चित नहुँदा अभिभावक एवं विद्यार्थी अलमलमा परेका हुन् ।
सुहाना भण्डारी भन्छिन्– अहिलेसम्म परीक्षा कुन माध्यममा हुने थाहा छैन । छिट्टै परीक्षाको विधि र मिति टुंगो लागिदिए हुने । सबै पढाइ पनि अनलाइन भयो । अब परीक्षा पनि अनलाइन नै भयो भने राम्रो हुन्छ
सुहाना भण्डारी कक्षा १० की विद्यार्थी हुन् । यो शैक्षिक सत्रको केही समय मात्रै भौतिक उपस्थितिमा पढेकी उनले अनलाइन कक्षा लिएर नै पाठ्यक्रम सकिएको बताइन् । काठमाडौंको एक निजी विद्यालयमा अध्ययन गरिरहेकी भण्डारी कुन विधिमा परीक्षा दिनुपर्ने हो भन्ने निश्चित नहुँदा अलमलमा परिरहेको बताउँछिन् ।
उनलाई सबै पढाइ पनि अनलाइन माध्यमबाटै भएकाले परीक्षा पनि अनलाइन माध्यममा नै होस् भन्ने चाहना छ’ भण्डारी भन्छिन्, ‘अहिलेसम्म परीक्षा कुन माध्यममा हुने थाहा छैन । छिट्टै परीक्षाको टुंगो लागिदिए हुने जस्तो लागेको छ । सबै पढाइ पनि अनलाइन भयो । अब परीक्षा पनि अनलाइन नै भयो भने राम्रो हुन्छ । आउने वर्षहरूमा पनि सजिलो हुन्छ ।’
उनको विद्यालयले अहिले अनलाइन परीक्षा लिइरहेको छ । उनी लगायत विद्यार्थीलाई विद्यालयले भौतिक रुपमा परीक्षा दिनुपर्ने निर्णय आए सोही अनुसार हुने र अन्य विधिबाट परीक्षा गराउनुपर्ने अवस्था आए अहिले भइरहेको अनलाइन परीक्षाको आधारमा मूल्यांकन हुने जानकारी दिएको छ ।
ललितपुरको एक निजी विद्यालयमा अध्ययनरत प्राप्ती अधिकारीलाई चाँडै परीक्षा हुने विधि थाहा पाउन मन लागेको छ । उनलाई भने भौतिक रूपमा परीक्षा हुँदा सहज हुने लाग्छ ।
भन्छिन्, ‘मलाई फिजिकल भए पनि हुने जस्तो लागेको छ । अनलाइन हुँदा कहिलेकाहीं नेट स्लो हुन्छ । लेखेको कपीको फोटो खिचेर पठाउँदा ढिलो जाने, कहिले नजाने हुन्छ । त्यही भएर दिक्क लाग्छ । तर फेरि रिस्क पनि छ ।’
उनको विद्यालयले भर्खरै प्रि एसईई भनेर गणितको शतप्रतिशत र बाँकी विषयको ७५ प्रतिशतको अनलाइन परीक्षा लिएको छ । अनलाइन परीक्षा भयो भने त्यही परीक्षा र टर्मिनल परीक्षाको मूल्यांकन हुने विद्यालयले जानकारी दिएको उनी बताउँछिन् ।
उनले भनिन्, ‘अहिले रिभिजन क्लास भइरहेको छ । तर स्टुडेन्ट नै अनलाइन आउँदैन ।’ उनको भनाइअनुसार दुईवटा सेक्सनको एउटै अनलाइन कक्षा भइरहेको छ । दुई सेक्सनको कुल विद्यार्थी संख्या ९० जना हो तर अनलाइनमा ३५ देखि ४० जना मात्रै हुन्छन् ।