सल्यान : ढल्किँदो उमेरसँगको बढ्दो जाँगर। कर्मप्रतिको आफ्नै मोह। सल्यान सिद्ध कुमाख गाउँपालिकाका १ पटारेका लैनबहादुर बुढाथाकीको मुख्य पेसा हो शिक्षण। उनी पटारेमै रहेको महेन्द्र आदर्श माध्यमिक विद्यालयका शिक्षक हुन्। विद्यालयमा जाने विद्यार्थीलाई पढाउने बुढाथोकीको कर्म नै हो। तर, उनी यतिमा सीमित छैनन्।
दिनभर शिक्षण पेसामा व्यस्त रहने उनी बिहान बेलुका बचेको समय तरकारी खेतीमा व्यस्त हुने गर्दछन्।
आजभोलि कोरोनाले विद्यालय बन्द हुँदा बिहानदेखि साँझसम्म तरकारी बारीमा उनी व्यस्त हुने गरेका छन्। ३ रोपनीमा टनेल र खुला स्थानमा ४ रोपनी गरी ७ रोपनीमा तरकारी खेती गर्दै आएका छन् बुढाथोकीले । ‘शिक्षण पेशासँगै कृषिमा र रमाउन पाउँदा खुसी नै बेग्लै हुन्छ। शिक्षण गर्नुभन्दा पहिले पनि कृषि गर्दै आइरहेको थिए’ उनले भने।
समाजमा अझै पनि कृषिलाई सम्मानित पेसाको रुपमा स्वीकार गर्ने अवस्था नरहेको उनको अनुभव छ। त्यसमा पनि शिक्षक भइसकेको मान्छेले पनि खेती किसानी गर्नेभन्दा पनि शिक्षण पेसाबाट आएको पैसाले पुगिहाल्छ नी भन्ने समाजको धारणा रहेको उनले बताए। उनले भने ‘अनपढ र केही काम गर्न नसक्ने मान्छे मात्र कृषि पेसा अंगाल्ने हो भन्ने मान्यतालाई टाड्न पनि आफुले विगत एक दशक देखि व्यवसायिक तरकारी खेतीमा व्यस्त हुँदै आइरहेको छु।’
वार्षिक पाँच लाख आम्दानी
कुनै पनि काम सानो ठूलो नहुने बताउँदै उनले तरकारी खेतीबाट नै वार्षिक ४ र ५ लाखसम्म आम्दानी हुँदै आइरहेको बताए। मिहिनेत गरे परिश्रमको मूल्य पाउन सकिने उनको भनाइ छ। उनले भने, ‘कोरोना भाइरसका कारण आजभोलि विद्यालय बन्द छन्। विद्यालय बन्द भएको समयमा दिनभर नै बारीमै व्यस्त हुने गरेको छु।’
बेमौसमी तरकारी खेतीमा जोड
मौसमी तरकारीभन्दा बेमौसमी तरकारीले बजार मूल्य राम्रो पाउने भएकाले झन्डै ८ लाख लगानी गरेर तीन रोपनीमा प्लास्टिक घर निर्माण गरेको शिक्षक बुढाथोकीले बताए।
मौसममा धेरैसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सस्तो मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ तर बेमौसमीमा सीमित किसानले मात्र तरकारी उत्पादन गर्ने भएकाले आफूले पनि बेमौसमी तरकारी खेतीलाई जोड दिँदै आइरहेको उनको भनाई छ। उनले भने ‘तरकारी बजारीकरणका लागि खासै समस्या नभए पनि अहिले बन्दाबन्दीका कारण सिजनका तरकारी निर्यातमा समस्या भएको छ।’ बेमौसमी तरकारीका लागि भने कुनै समस्या नरहेको बुढाथोकीले बताए।
सिजनमा मुलाको बिउ बेचेरै ८० हजार
मौसमी तथा बेमौसमी तरकारीका साथै शिक्षक बुढाथोकीले मुलाको बिउ उत्पादनबाट पनि राम्रो आम्दानी गर्दै आइरहेका छन्। सुरुमा परीक्षणका रुपमा गरिएको मुलाको बिउ उत्पादन अहिले व्यावसायिक बनेको छ। एक सिजनमा ३ देखि ४ क्विन्टल मुलाको बिउ बिक्री गर्ने गरेको उनले बताए।
उनले भने, ‘यहाँ मुला हुन्छ कि हुँदैन भनेर सुरुमा एक दुई जनाले विचार गर्यौं राम्रै भएपछि धेरै क्षेत्रफलमा यहाँका झन्डै ६० भन्दा बढी घरधुरीले अहिले उत्पादन गर्दै आइरहेका छन्।’
हिउँदे सिजनमा पटारेका कुनै पनि किसानले गहुँ छर्ने नगरेको उनले बताए। तीन वर्षसम्म लगाएको गहुँको आम्दानीलाई मुलाको बिउले एक वर्षमै जित्ने गरेको बढाथोकीको भनाई छ। मुलाको बिउ बजारीकरणका लागि पनि समस्या नरहेको उनले बताए।
उनले भने, ‘मुला लगाउन बिउ दिने व्यापारीले नै बिउ खरिद गर्ने जिम्मा लगेको हुन्छ तयार भयो भने सबै व्यापारीले उठाएर लगिदिन्छ। हामीले उत्पादन मात्र गरिदिने हो।’
दुई सय रुपैयाँ प्रतिकिलोका दरले २० हजार रुपैयाँ क्विन्टल बिउ बिक्री हुँदै आइरहेको छ। परम्परागत खेती प्रणाली भन्दा आधुनिक खेती प्रणालीलाई अवलम्वन गर्न सके कृषिबाट मनग्य आम्दानी लिन सकिने र कृषिलाई पनि सम्मानित पेसाका रुपमा विकास गर्न सकिने बुढाथोकीले बताए।थाहा खबरबाट