☰ open Loading... 19 November 2024|  

फौजदारी अपराधमा सर्वोच्चले झिकायो कर्णालीका मन्त्री, यस्तो छ अदालतबाट दोषी ठहर भएको फैसला
  | १६ जेष्ठ २०७८, आईतवार २०:०९

 

 

 

 

काठमाडौं, जेठ १६ । सर्वाेच्च अदालतले मन्त्रीमा कायम रहने कि नरहने भन्ने विषयमा छलफल गर्न कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाई जेठ ३० गते उपस्थित हुन आदेश जारी गरेको छ ।

सरकारी कागजात किर्ते प्रमाणित भई फौजदारी सजाय पाएका मन्त्री थापाको पद बदर गर्न सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आइतवार सुनुवाई गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मन्त्री पदमा रहने वा नरहने अन्तरिम आदेशको लागि छलफल गर्न जेठ ३० गते अदालत उपस्थित हुन आदेश जारी गरेको हो ।

फौजदारी अभियोग प्रमाणित भैसकेको व्यक्ति मन्त्री जस्तो सार्वजनिक पदमा बहाल रहन नमिल्ने भन्दै तत्काल मन्त्री पदको कामकाज नगर्न÷नगराउन अन्तरिम आदेशको मागसहित सर्वोच्चमा गत मंगलबार रिट निवेदन दर्ता गरिएको थियो । प्रदेश प्रमुखको कार्यालय, मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र मन्त्री थापासमेतलाई विपक्षी बनाइएको सो रिटमा निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएका मितिले १५ दिनभित्र कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ समेत माग गरिएको छ ।

के हो अभियोग ?

खाद्यान्न ढुवानीलगायतका ठेक्काको काम गर्ने क्रममा मन्त्री थापा र दैलेख जिल्ला, साविक नारायण गाविस वडा नं. १, नयाँ बजार बस्ने भेषबहादुर थापा मिलेर मालपोत कार्यालय, दैलेखले मूल्यांकण नगर्दा नगर्दै पनि मालपोत कार्यालयले मिति २०४३।१०।२५ मा घरजग्गाको रु. १,७०,०००। मूल्याङ्कन गरेको किर्ते मूल्याङ्कन पेश गर्नुभएको थियो । सरकारी कागजात र छाप किर्ते गरेको आरोप भेषबहादुर र अम्मरबहादुर थापा विरुद्धमा तत्कालिन जिल्ला कार्यालय, दैलेखको पत्र जाहेरीले किर्ते जालसाजी मुद्दा चलेको थियो ।

सो मुद्दामा दैलेख जिल्ला अदालतबाट अम्मरबहादुरलाई कीर्ते कागजको १० नं. अनुसार रु. ८,५००। जरिवाना गर्ने फैसला २०४७।३।१४ मा भएको थियो । त्यसको विरुद्धमा थापाले पुनरावेदन अदालत, सुर्खेतमा पुनरावेदन गरेकोमा पुनरावेदन अदालत, सुर्खेतबाट मिति २०५०।९।६ मा किर्ते कागजको १२ नं. अनुसार कैद वर्ष १ र विगो रु. १ लाख ७० हजारको २५ प्रतिशत रु. ४२,५००। को दुई जनालाई दामासाहीले आधा सजाय हुन्छ भनी केही उल्टी फैसला गरेको थियो । सो फैसलामा चित्त नबुझाई अम्मरबहादुरले पुनरावेदन अदालत, सुर्खेत मार्फत मिति २०५१।२।२ मा सर्वोच्च अदालतमा छुट्टै र भेषबहादुरले छुट्टै पुनरावेदन गर्नुभएको थियो ।

सो मुद्दाको सर्वोच्च अदालतबाट मिति २०५७।६।२।२ मा फैसला हुँदा भेषबहादुर थापालाई १ वर्ष कैद र रु. ५०। जरिवाना भएको र अम्मरबहादुर थापालाई ६ महिना कैद र २५ रुपैँया जरिवाना भई भएको फैसला अन्तिम भएको छ । उल्लिखित सजायहरूमध्ये मन्त्री थापा अनुसन्धानको क्रममा मिति २०४५।२।५ देखि २०४५।२।२४ सम्म १९ दिन थापा थुनामा बसेकोले त्यो अवधि कटाई बाँकी रहेको ५ महिना ११ दिनको अवधिको तत्कालीन मुलुकी ऐन, दण्ड सजायको महलको ११ क नं. बमोजिम प्रति दिन रु. ७। को दरले हुने जम्मा रु. ११२७। र जरिवाना रु. २५। समेत गरी ११५२। तिरे कैद बस्नु नपर्ने भन्ने भएकोले फैसलाबमोजिम उल्लिखित रकम तिरेर बाँकी कैद बस्नुभएको थिएन ।

सजाय पाएपछि नामसमेत किर्ते

सर्वोच्च अदालतबाट फौजदारी अभियोग प्रमाणित भइसकेपछि मन्त्री थापाले आफनो नामसमेत बदलेको पाइएको छ । अदालतबाट सजाय प्रमाणित हुँदासम्म थापाको नाम अम्बरबहादुर थापा थियो । सो सजाय यता उहाँले अम्मरबहादुर थापा लेखाउँदै आएको पाइएको छ । थापा २०६४ र २०७० सालमा संविधानसभाको निर्वाचनमा दैलेख क्षेत्र नं १ बाट निर्वाचन लडनु भएको थियो । त्यस्तै २०७४ सालको प्रदेशसभा निर्वाचनमा दैलेख क्षेत्र नं १ ख बाट निर्वाचित हुनुभएको थियो । मन्त्री थापाले आफनो नागरिकताको प्रतिलिपिसमेत नबुझाएको बताइएको छ ।जनताटाइम्सबाट