दैलेख – दैलेखको लागि अक्सिजन अभियानमा संकलन भएको ८ लाख बढी रकमले स्वास्थ्य सामाग्री किनेर जिल्ला अस्पताल दैलेखलाई हस्तान्तरण गरिएको छ ।अभियान्ता ओम रिजाल र मिना थापाको अगुवाईमा भएको सहयोग संकलनमा ३ सय २८ जना सहयोगी मनहरु जोडिएका थिए ।
अभियानबाट ८ लाख २ हजार ९ सय ४५ रुपैयाँ संकलन भएको छ । उक्त सकंलित रकमले ७ लाख १५ हजार ९ सय रुपैँयाको स्वास्थ्य सामाग्री खरिद गरि आईतबार जिल्ला अस्पताल दैलेखलाई हस्तान्तरण गरिएको छ । दैलेखमा वितरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा अक्सिजन सिलिन्डर ५ थान (१ लाख १० हजार ९ सय), अक्सिजन कन्सन्टे«टर मेशिन ५ लिटर १ थान (१ लाख १० हजार), अक्सिजन कन्सन्टे«टर मेशिन १० लिटर ३ थान (४ लाख ९५ हजार ) दुल्लु अस्पतालमा १ थान र दैलेख अस्पतालमा २ थान दिईएको छ । बाँकी रहेको ८७ हजार रुपैँया पनि तत्काल स्वास्थ्य सामाग्री किन्ने अभियान्ताहरु बताउँछन् ।
जिल्लामा अक्सिजन ग्यास उपलब्ध गराउने उद्देश्यले अभियान्ता ओम रिजाल र मिना थापाको अग्रसरतामा आर्थिक संकलन गरिएको थियो । विशुद्ध सेवाभावले चलाईएको अभियानमा सवै जोडिनु भएकोमा अभियान्ता ओम रिजालले धन्यवाद दिए । जिल्लामा कोभिडको बेला स्वास्थ्य सामाग्री जुटाउन पाउदा आफुमा खुसीबोध भएको अर्का अभियान्ता मिना थापाले बताईन् ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले स्वास्थ्य सामाग्री बुझ्दै सहयोगी अभियान्ताहरुलाई धन्यवाद दिए । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा समाजसेवी तथा काँग्रेस नेता जगतजंग थापाले जिल्लालाई माया गर्ने सवैमा धन्यवाद दिए ।