☰ open Loading... 17 November 2024|  

आठबीस नगरका कर्मचारीको बदमासी, कर्णालीमै नआउने पत्रिकामा लाखौंका टेण्डरका सूचना
  | १९ जेष्ठ २०७८, बुधबार १५:२७

सुर्खेत । दैलेख जिल्लाको आठबीस नगरपालिकाका कर्मचारीको मिलेमतोमा नगरमा हुने अधिकांश टेण्डरबारे नागरिकलाई जानकारी नहुने खुलेको छ । नगरपालिकाका कर्मचारीहरुको मिलेमतोमा काठमाडौंमा प्रकाशित हुने तर बजारमा खोज्दा नभेटिने पत्रिकामा लाखौं रुपैंया तिर्ने गरी टेण्डर आव्हान हुने गरेको खुलेको हो ।

नगरपालिकाका वडा नं। ४ राकम कर्णालीमा १५ शैयाको अस्पतालको भवन निर्माण गर्ने भन्दै नगरपालिकाले जेठ १७ गते टेण्डर आव्हान गरेको थियो । उक्त टेण्डर आव्हान भएकमो सकभर बाहिर नआओस र अन्य व्यक्तिले टेण्डर भर्न नपाउन भन्ने उदेश्यका साथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी गोकर्ण नाथ योगी, लेखा अधिकृत द्रोणदेव वन र करारमा नियुक्त गरिएका इन्जिनियर सुमित दासको संलग्नतामा यस्ता कामहरु भइरहेको नगरपालिकाका कर्मचारीको गुनासो छ ।

‘उहाँहरु नै सबै तयारी गर्ने, कसलाई विज्ञापन दिने र कुन पत्रिकामा दिने भन्ने कुरा निक्र्योल गर्नुहुन्छ । यसबारेमा नगरप्रमुख, उपप्रमुखसँग कुनै पनि सल्लाह हुँदैन । हामी मातहतका कर्मचारीसँग त के कुरा हुन्थ्यो रु’ नाम नलेख्ने शर्तमा ती कर्मचारी भन्छन्, ‘हामीले प्रचार प्रसार हुने पत्रिकामा टेण्डरको सूचना प्रकाशन गरेको खण्डमा अन्यले पनि थाहा पाउने र त्यसले गर्दा बढि प्रतिस्पर्धा भइ राम्रो काम गर्ने ठेकेदारले टेण्डर हात पार्ने भएका कारण नामै नसुनिएका पत्रिकामा विज्ञापन दिइएको हो ।’

यस अघि नगरपालिकाका यी कर्मचारीले नेपाल समाचार पत्र, मध्यान्न, प्रभाव, हिमालय टाईम्स, सौर्य दैनिक जस्ता पत्रिकामा शिलबन्दी दरभाउपत्र गोप्य रुपमा हाली दरभाउ पत्रको म्याद गुज्रेपछि मात्र कार्यालयको सूचना पाटीमा टाँस्ने गरेका छन् । यी कुनै पनि पत्रिका कर्णालीमा आइ पुग्दैनन् ।
यसले गर्दा उनीहरुले चाहेका मान्छेलाई ठेक्का पार्नका लागि सहज हुने भएको र त्यसबाट कमिशन पनि लिन पाईने भएका कारण चोरबाटोबाट विज्ञापन दिने गरिएको पाइएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णनाथ योगीले आफू्रलाई टेण्डर भएको मात्रै थाहा पाएइको बताए । ‘लेखा, सु्चना अधिकारी र इन्जिनियरलाई सोध्नुहोस । मलाई सबैकुरा थाहा हुँन्दैन ।’ उनी भन्छन्, ‘यसका बारेमा उहाँहरुलाई नै सौध्नुस, मेरो त्यसमा कुनै पनि सेटिङ्ग छैन ।’
करारमा नगरपालिकामा इन्जिनयरको रुपमा कार्यरत सुमित दासलाई यसबारेमा कुरा गर्न खोज्दा उनले फोन उठाएनन् ।

नगरपालिकाले प्रभाव राष्ट्रिय दैनिकमा एजेन्सी मार्फत दिएको विज्ञापन वापत एक लाख पचास हजार भन्दा बढि भुक्तानी गर्ने देखिन्छ तर पत्रिकालाई भने मुस्किलले २० हजार हात पर्ने एक एजेन्सी सञ्चालकले बताए । उनका अनुसार कर्णाली प्रदेशमा विज्ञापनकै लागि भनेर करिब २० वटा व्यावसायिक एजेन्सी सञ्चालनमा छन् । स्थानीयलाई विज्ञापन दिदा विज्ञापन लुकाउन नसकिने र कमिशन माग्न कठिन हुने भएका कारण कर्मचारीले काठमाडौंमा सञ्चालित एजेन्सीहरुलाई दिने गरेका छन् ।

नगरपालिकाले निकालेको १५ शैयाको सो अस्पतालको भवनका लागि डिपीआरको पुरा विवरण नआउँदै टेण्डर आव्हान गरिएको पाइएको हो । नगरपालिकाले रु ११ करोड ४० लाख ५६ हजार ९भ्याट बाहेक० मा भवन निर्माण गर्ने भन्दै सूचना प्रकाशन गरेको थियो ।नेपाली रैबार बाट