सल्यान- सलयानमा नेपाली सेनाले जिल्ला अस्पताल हाताभित्र २५ बेडको आइसोलेसन भवन निर्माण गरेको छ। कोरोना संक्रमितलाई राख्न सल्यान अस्पतालमा बेडको अभाव भएपछि अस्पताल परिसरमा सेनाले बनाएको २५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आइसोलेसन भवन निर्माण गरेको सबुज गण सिमखर्कका गणपति कञ्चन कृष्ण बस्नेतले बताए। जिल्लामा कोरोना संक्रमण फैलिँदै गएको र अस्पतालमा सीमित बेड हुँदा नगरपालिकाको समन्वयमा नयाँ भवनसहित २५ बेडको आइसोलेसन सेन्टर निर्माण गरिएको उनको भनाइ छ।
प्राकृतिक प्रतिकूलता, निषेधाज्ञाका कारण सामान ढुवानीमा समस्या र कोरोना महामारीकै बीचमा १५ दिनको बीचमा आइसोलेसन, ३ शौचालय, एक बाथरुम निर्माण गरिएको बस्नेतले बताए। सहसेनानी दीपक बुढाथोकीको कमान्डमा स्वास्थ्य मापदण्ड पालना गरी भवन निर्माण गरिएको उनको भनाइ छ।उनले भने, ‘बेडको अभावकै कारण कोही नागरिकले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर अस्पताल हाताभित्रै थप आइसोलेसन निर्माण गरिएको छ।’