☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

लोकगीतकी पर्यायः जसको आवाज झण्डै सात हजार गीतमा गुञ्जिन्छ
  |

२०५१ सालतिरको कुरा हो । लक्ष्मी न्यौपाने पाल्पादेखि घुम्नकै लागि काठमाडौं आएकी थिइन् । घुमघामकै मेलोमा उनलाई एउटा रहर पनि पूरा गर्नु थियो- रेडियो नेपालको ‘चौतारी’ कार्यक्रममा गीत गाउने ।

‘चौतारी’ त्यसबेला लोकगीतसम्बन्धी  रेडियो नेपालको लोकपि्रय कार्यक्रम थियो । घुम्न आएको मौकामा लक्ष्मी रेडियो नेपाल पुगिन्, गीत गाइन् । रेडियोमा उनको भेट चर्चित गायक/संगीतकार नारायण रायमाझीसँग भयो । उनले लक्ष्मीको स्वर सुने । जादुमयी स्वरले रायमाझीको समेत मन जित्यो । रायमाझीले भर्खरै रेकर्डिङ स्टुडियो खोलेका थिए । उनले लक्ष्मीलाई गीत रेकर्डिङका लागि हौसला दिए ।

‘अहिले तीजका गीतहरू रेकर्डिङ भइरहेका छन् । तपाईँ पनि गाउनुहोस् भन्नुभयो,’ लक्ष्मीले त्यो क्षण सम्झिँदै अनलाइनखबरलाई सुनाइन्, ‘तीजका गीतहरू लेखेर तयारी थियो । उहाँलाई सुनाएँ । उहाँले त आफ्नै एल्बममा गाउने अवसर दिनुभयो ।’

रायमाझीको ‘तीजको रमझम आयो बरिलै’ एल्बमका लागि उनले दुईवटा गीत रेकर्ड गर्ने अवसर पाइन् । त्योबेला अहिलेजस्तो ‘च्याउसरी’ रेकर्डिङ स्टुडियोहरू खुलिसकेका थिएनन् । रेडियो नेपालमै बढी गीत रेकर्डिङ हुन्थ्यो । बाहिर रेकर्डिङ भएका गीतहरू रेडियोमा प्रशारण हुन गाह्रो थियो । बोर्ड बैठकबाट पास हुनुपथ्र्यो ।

लक्ष्मी गीत रेकर्डिङ गराएको केही समयपछि पाल्पा फर्किइन् । आफ्नो गीत रेडियोमा बज्छ/बज्दैन, कुनै टुंगो थिएन । घर पुगेपछि उनको कान रेडियोतिर सोझिइरहृयो । पञ्चमीको दिन रेडियो नेपालबाट उनको गीत प्रशारण भयो ।

आफ्नो गीत रेडियोमा बज्दा उनी खुशीले उफ्रिइन् । ‘त्यो दिन त दिनभर रेडियो सुनेर बसेँ’, आज पनि त्यो अविस्मरणीय दिन सम्झिरहन्छु ।’

भजनबाट सुरु भएको यात्रा
पाल्पाको रम्घा, जहाँ लक्ष्मी जन्मिइन् । आमाबुवाका ६ सन्तानमध्ये उनी माइली छोरी । सानैदेखि सांगीतिक वातावरणमा हुर्किइन् । लक्ष्मीको घरमा सरस्वती मन्दिर निर्माण गरिएको थियो । मन्दिरमा हरेक दिन साँझ छिमेकीहरू जम्मा भएर पूजा, भजनकीर्तन हुन्थ्यो । भजनपछि मात्र उनको घरमा खाना खाने प्रचलन थियो । लक्ष्मीका बुवा, काका, फूपू दिदीहरू भजनमा सहभागी हुन्थे । शिक्षक बुवा भोलाप्रसाद गीत लेख्ने, गाउने गर्दथे ।

लक्ष्मीको गायन यात्रा घरमा हुने त्यही भजनकीर्तनबाटै अघि बढ्यो । उनी आफू सानैदेखि गला मिलाएर भजन गुनगुनाउने गरेको सम्झन्छिन् । विद्यालय भर्ना भएपछि नियमित गायन प्रतियोगीतामा भाग लिन थालिन् । विद्यालयमा गाउन बुवाले नै सिकाउँथे । उनी बुवाले सिकाएअनुसार स्वर खिपेर गाउने अभ्यासमा पारङ्गत हुँदै गइन् ।

‘बुबाले गीत लेखेर गाउन सिकाउनुहुन्थ्यो । उहाँले सिकाएअनुसार १/२ कक्षामा पढ्दादेखि नै विद्यालयमा गीत गाउन थालेँ,’ गायनमा सानैदेखि बुबाको प्रेरणा रहेको बताउँदै लक्ष्मी भन्छिन्, ‘बुबाका गीत रेकर्ड नभएपनि उहाँ लेख्न, गाउनमा रूची राख्नुहुन्थ्यो ।’

लोकगीत प्रतियोगिताकै लागि उनी अर्को विद्यालयसम्म पुग्थिन् । अधिकांश ठाउँबाट पुरस्कार जितेर ल्याउँथिन् ।

त्यो समय गीतसंगीत सुन्नका लागि रेडियो नेपाल एकमात्र विकल्प थियो । उनले पनि काठमाडौं पुगेर रेडियो नेपालको ‘चौतारी’मा गीत गाउने रहर पालेकी थिइन् । फुपूदिदी काठमाडौंमा रहेकाले घुम्नेसँगै रेडियो कार्यक्रममा गीत गाउने रहर पालेर लक्ष्मी काठमाडौं आएकी थिइन् । त्यही रहर पूरा गर्ने क्रममा नारायण रायमाझीसँग भेट भयो । त्यसपछि उनले रेकर्डिङको अवसर पाइन् ।

‘स्वर परीक्षा छुट्यो, एकैपटक दर्जन गीत गाएँ’

आफ्नो गीत रेडियोबाट बजेपछि र सबैले प्रशंसा गरेपछि भने उनमा कताकता गायिका बन्ने आकांक्षा पलाउन थाल्यो । त्यस समय गायिका बन्न ‘रेडियो नेपालबाट स्वर परीक्षा पास गर्नुपर्छ’ भन्ने थियो । उनमा पनि स्वर परीक्षा दिने सोच आयो । परिवारले पनि स्वर परीक्षाका लागि प्रेरणा दिए ।

रेडियोमा स्वर परीक्षा दिनका लागि भनेर लक्ष्मी २०५२ सालमा फेरि काठमाडौं पुगिन् । र्फम भर्ने समय सकिएकाले स्वर परीक्षा छुट्यो । तर, सोही समय एकैपटक एक दर्जन गीत रेकर्ड गर्ने अवसर पाइन् ।

अहिलेसम्म झण्डै सात हजार गीतमा स्वर दिएको लक्ष्मीको दाबी छ । तीनसय भन्दाबढी देउडा गीत गाएकी छन् । तामाङ सेलो, देउडा, भोजपुरी, थारू तथा काँठे गीत पनि लक्ष्मीको आवाज गुञ्जिन्छ । भनिन्- त्यो समय छोरीमान्छेले गीत गाएको त्यति राम्रो मानिँदैन’थ्यो । मैले त विवाहपछि पनि परिवारबाट साथ पाएँ । म आफूलाई भाग्यमानी गायिका मान्छु ।

नारायण रायमाझीकै सिफारिसमा उनले नौवटा देउडा गीत र केही दोहोरी गाइन् । ती सबै गीत रायमाझीकै ‘रीमा रेकर्डिङ स्टुडियो’मा रेकर्डिङ भए । त्योबेला नौवटा देउडा गीत गाएबापत उनले २७ सय रूपैयाँ पारिश्रमिक पाइन् । पहिलोपटक पारिश्रमिक पाउँदा निकै खुःसी लागेको उनी आज पनि याद गर्छिन् ।  त्यसपछि लक्ष्मी गाउँ फर्किइन् । दुई वर्ष गाउँमै बिताइन् ।

‘त्यतिबेला धेरैले स्वर राम्रो छ । गायनमा लाग्नुपर्छ भनेर हौसला दिनुभयो । उहाँहरूले गायिका बन्न काठमाडौं बस्नुपर्छ भन्नुभयो,’ लक्ष्मी सुनाउँछिन्, ‘परिवारले पनि त्यही सल्लाह दिनुभयो । २०५४ सालमा मात्रै काठमाडौं बस्नेगरी आएँ ।’

सोही वर्ष रेडियो नेपालले राष्ट्रव्यापी लोकगीत प्रतियोगिता आयोजना गरेको थियो । त्यसमा उनी सहभागी भइन् । उत्कृष्ट तेह्रसम्म पुगिन् । २०५५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरिन् । सोही वर्ष आफ्नो पहिलो लोकदोहारी क्यासेट एल्बम ‘नजाऊ है रेलैमा’ बजारमा ल्याइन् ।

जमाना क्यासेटको

डिजिटल प्रविधि नहुनाले गीत सुन्न रेडियोमा कान थापेर बस्नुपर्ने बाध्यतालाई अडियो क्यासेट विकल्पका रुपमा आएको समय थियो त्यो । अडियो क्यासेटले बजार पिट्दै थियो ।

क्यासेटमा ‘ए’ र ‘बी’ साइडगरी आठ वटासम्म गीत समावेश हुन्थे । प्रायः ‘ए’ साइटमा चलेका गायक-गायिकाका गीत राखिन्थ्यो, ‘बी’ साइडमा नयाँ स्वर राखिन्थे ।

सवारीसाधनहरूमा पनि त्यसबेला गीतहरू निकै घन्किन्थे । बिस्तारै जिल्ला-जिल्लामा एफएम रेडियो खुल्ने लहर सुरु भयो । एफएम रेडियोमा क्यासेटको खात-खात बनाएर राखिन्थ्यो ।  एल्बम बिक्रीअनुसार कम्पनीले गायक-गायिकालाई रोयल्टी दिन्थे ।

लक्ष्मीको यही समय गीतियात्रा उत्कर्षमा रहृयो । पहिलो एल्बम आफ्नै लगानीमा ल्याएपनि त्यसपछि उनलाई दर्जनौं गीतको अफर आउन थाल्यो ।

‘कालीपारे दाइ’, ‘फुलबुट्टे चोलीमा’, ‘लडाइँको लाहुरे’, ‘मुग्लिनको बजार’, ‘माछापुच्छे्र शिर’जस्ता उनका गीत निकै चर्चित भए ।

‘मौरी फूलमाथि’ ‘फूलमा भमरा’, ‘बनमा काँडा छ’, ‘सिमसिम पानी रइछौं बेइमानी’, ‘मिर्मिरेको घाम’, ‘सारङगी रेटौँला मौका मिले फेरि भेटौंला’ जस्ता गीतहरू नेपालभरि गुञ्जिए । आफ्नै एल्बम ‘कर्म’, ‘जुनेली रातैमा’को क्यासेटको माग बढ्यो । ‘टलटल टलिकनलाई’, ‘तीज आयो राजै’, ‘झल्को माइतीको’जस्ता एकपछि अर्को तीज गीतहरू हिट हुँदै गए ।

त्यो समय लक्ष्मी हरेक दिनजसो रेकर्डिङ स्टुडियोमा व्यस्त हुन थालिन् । दिनमै ६ वटासम्म गीत रेकर्डिङ गर्ने क्रम चल्यो । यतिञ्जेलसम्म लक्ष्मीको स्वरका पारखीहरू दिनानुदिन बढ्दै गए । रेकर्डिङ स्टुडियोमा उनका नाममा सयौंले चिठ्ठी पठाए ।

लक्ष्मी सुनाउँछिन्, ‘अहिलेजस्तो मोबाइल, फेसबुकको जमाना थिएन् । स्रोताहरूले गीत सुनेर रूचाएपछि स्टुडियोमा हाम्रो नाममा चिठ्ठीहरू पठाउनुहुन्थ्यो ।’

त्यतिबेला स्टेज कार्यक्रम कम हुन्थ्यो । लक्ष्मी आफैं पनि स्टुडियोमा व्यस्त हुने भएकाले स्टेज कार्यक्रममा कमै हिँड्थिन् । २०६० को दशकदेखि फाट्टफुट स्टेज कार्यक्रममा हिँड्न थालिन् । त्यसपछिका गीतहरू पनि निकै रूचाइए ।

‘रुन्छ नि मन किन रुँदैन’, ‘पूर्वमा झ्याल राखे’, ‘चरी भए आउँथे उडेर’,’फूलको थुंगामा’, ‘यो मायाको संसार विचित्र’, ‘मधु वनैमा’, ‘अब त आँटम भो’, ‘माइतीको काख’ जस्ता थुप्रै गीतहरू उत्तिकै रूचाइए । तीज गीतहरू त हरेक रूचाइए ।

अहिलेसम्म झण्डै सात हजार गीतमा स्वर दिएको उनको दाबी छ । लोकगीत मात्र होइन, उनले तीनसय भन्दाबढी देउडा गीत गाएकी छन् । तामाङ सेलो, देउडा, भोजपुरी, थारू तथा काठे गीतमा पनि उनको स्वर गुञ्जिन्छ ।

कुनै समयकी व्यस्त गायिका लक्ष्मीको व्यस्तता हिजोआज घटेको छ । यो कुरा उनी स्वीकार्छिन् । तर, स्रोता-दर्शक एवं शुभचिन्तकलाई त्यो लागेपनि आफू गीतसंगीतबाट कहिल्यै टाढा नगएको उनी सुनाउँछिन् । बालबच्चाको रेखदेखमा समय दिनुपर्ने भएका कारण २०६५ सालपछि केही समय गीत नगाए पनि त्यसपछि उनी फेरि गायनमै छिन् ।

हरेक वर्ष उनी तीजमा आफ्नै प्रस्तुतिमा गीत सार्वजनिक गर्छिन् ।  तीजबाहेक अन्य लोकगीत पनि सार्वजनिक हुँदै आएका छन् ।

‘अहिले पनि दुईवटा गीत रेकर्ड भइसकेका छन् । सहज वातावरण भएपछि छायांकन गरेर सार्वजनिक गर्ने तयारी छ । त्यस्तै, तीज गीत पनि ल्याउने सोच बनाएकी छु’, उनले नयाँ गीतहरूको तयारीबारे सुनाइन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी आजीवन सदस्य लक्ष्मीले दर्जनौं अवार्ड, पुरस्कार तथा सम्मान पाएकी छिन् ।

लोकगीतमा समयसँगै परिवर्तन आवश्यक भए पनि मौलिकपन रहने गरी गीत ल्याउनुपर्ने धारणा लक्ष्मी राख्छिन् ।

‘सकेसम्म राम्रा गीत, आफ्नो मौलिकपन, आफ्नो माटो सुहाउँदो, संस्कृति सुहाउँदोलाई समेटने खालका गीतहरू गाउनुपर्छ’ उनी सुझाउँछिन्, ‘सकेसम्म गीतले केही सन्देश देओस् कि स्वस्थ्य मनोरञ्जन देओस् ।’

‘म भाग्यमानी गायिकामा पर्छु !’

लक्ष्मी परिवारसँगै स्रोताहरूको मायाले आफू यहाँसम्म आएको बताउँछिन् । परिवारको साथले निरन्तर गायनमा सक्रिय रहन सकेकोमा खुसी व्यक्त गर्छिन् ।

‘त्यो समय छोरीमान्छेले गीत गाएको त्यति राम्रो मानिँदैन’थ्यो,’ लक्ष्मीले भनिन्, ‘ विवाहपछि पनि परिवारबाट साथ पाएँ । धेरै चर्चित गीतहरू विवाहपछि नै गाएकी छु ।’ उनी आफूलाई भाग्यमानी गायिका मान्छिन् । २०५९ सालमा रूपन्देही निवासी झलक रेग्मीसँग विवाह गरेकी लक्ष्मीका दुई छोरा र एक छोरी छन् ।

प्रकाशित मितिः शनिबार, असार ५, २०७८     5:19:35 AM