सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई अब उपमहानगरपालिका बनाइने भएको छ । बिहीबार भएको नवौं नगरसभाले नगरपालिकालाई उपमहानगरपालिका बनाउने एजेण्डा पारित गरेको उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
उनका अनुसार नगरसभाबाट पारित उपमहानगरपालिका बनाउने एजेण्डा कर्णाली प्रदेश सरकारमार्फत संघीय सरकारमा जानेछ । ‘वीरेन्द्रनगर नगरपालिकाले उपमहानगरपालिकाका लागि चाहिने मापदण्ड पूरा गरेको छ’ उनले भनिन्, ‘अब यो एजेण्डा प्रदेश सरकार मार्फत संघीय सरकारमा गएर पारित हुनेछ ।’
उपमहानगरपालिकाका लागि आवश्यक मापदण्ड २ लाख जनसंख्या, २५ करोड आन्तरिक राजस्व र आवश्यक प्रशासनिक संरचना हुनुपर्छ । उपप्रमुख ढकालले भनिन्, ‘वीरेन्द्रनगरलाई उपमहागरपालिका धोषणा गर्ने पर्याप्त मापदण्ड तयार छ ।’
‘नगरमा १ लाख ३० हजार स्थायी बसोबास गर्नेहरु छन्, यो राजधानीको नगरपालिका भएकाले २ लाख भन्दा बढी अस्थायी बसोबास गर्नेको संख्या रहेको हाम्रो अनुमान छ,’ उपप्रमुख ढकालले भनिन् ।
वीरेन्द्रनगरमै बसोबास गरिरहेका तर बसाइँसराइँ कागजात नबनाएकाहरु धेरै भएको नगरपालिकाको दावी छ । हाल वीरेन्द्रनगरको आन्तरिक राजस्व २१ करोड ५० लाख रुपैयाँ छ । यसमा संघ र प्रदेश सरकारबाट बाँडफाँट भएर आउने राजस्वलाई जोड्ने हो भने २५ करोड पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल बताउँछन् ।
७९ वटा स्थानीय तह रहेको कर्णालीमा एउटा पनि उपमहानगरपालिका छैन । ७९ मध्ये २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका छन् । वीरेन्द्रनगर उपमहानगरपालिका धोषणा भए प्रदेशकै पहिलो उपमहानगरपालिका बन्ने छ ।