दैलेख । आठबीस नगरपालिकाले आगामी आर्थक वर्षका लागि ४८ करोड ३१ लाख २७ हजार १०६ रुपैंया बजेट विनियोजन गरेको छ । नवौं नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख दीपा बोहोराले आगामी आर्थिक वर्षमा आन्तरिक आयतर्फ ८० लाख रुपैयाँ प्रस्तुत गरेकी हुन् ।
चालुतर्फ २६ करोड ८४ लाख र पुँजीगततर्फ २१ करोड ४७ लाख २७ रुपैयाँ विनियोजन गरिएको उपप्रमुख बोहोराले बताइन् ।त्यस्तै संघीय सरकारको वित्तीय समानीकरण अनुदान १० करोड ४८ लाख, संघीय सरकारको बिशेष अनुदान ८३ लाख, संघीय सरकारको राजस्व बाडफाँटमार्फत प्राप्त हुने रकम ८ करोड ९८ लाख ७० हजार र संघीय सरकारको सशर्त अनुदान रकम २२ करोड ३३ लाख रुपैयाँ प्रप्त हुने बजेटमा उल्लेख छ ।
प्रदेश सरकारको वित्तीय समानिकरण अनुदान रकम १ करोड १० लाख ३३ हजार ,प्रदेश सरकारको राजस्व बाडफाटबाट प्राप्त हुने रकम ८ लाख २४ हजार १ सय ६ र मौज्जाद ४ करोड गरी बजेट प्रस्तुत गरिएको छ ।नगरपालिकाले ल्याएको नयाँ बजेटमा श्रीमती गुमाएका एकल पुरुषहरुका लागि स्वास्थ्य उपचार तथा व्यक्तिगत सरसफाई गर्न विदुरभत्ताको व्यवस्था गरिने नीति लिइने उनको भनाइ छ ।नगरपालिकाले दुई वटा भैंसी पाल्ने र १० वटासम्म बाख्रापालन गर्ने कृषकलाई ३० हजार अनुदान दिने घोषणा लगायतका कार्यक्रमका लागि पनि बजेट विनियोजन गरेको छ ।