सिमकोट । एक कट्टा चामल ढुवानीको विषयलाई लिएर भएको विवादले सिमकोट–७ डाँडाफयाको ग्वालेखोरमा तीन जना घाइते भएका छन् । शुक्रबार राती गाउँकै स्थानीय दुई समूहबीच भएको दोहोरो झडपमा सिमकोट–७ ग्वालेखोराका एउटै घरका आमा, वुवा र छोरा घाईते भएका हुन ।
घाइते हुनेमा प्रवेश शाही, मनबहादुर शाही र सिद्धा शाही रहेका छन् । उपचारका लागि शुक्रबार राती नैं जिल्ला अस्पताल हुम्लामा ल्याइएका छ । प्रवेशको नाक र टाउकोमा चोट लागेको छ भने सिद्धाको नाक र मुखमा चोट लागेको स्थानीय जयबहादुर शाहीले जानकारी दिए ।
खाद्य व्यवास्था तथा व्यापार कम्पनीले वितरण गरेको चामल ट्याक्टरमा ढुवानी गरेर लिने विषयमा स्थानीय प्रवेश शाही र उमेश सिहं बाट शुरु भएको विवादले उग्र रुप लिएपछि दोहोरो झडप भएको थियो । झडपमा उमेश सिंह र दिनेश शाहीको पक्षको कुटाइबाट प्रवेश शाहीका घरका तीनजना घाइते भएका छन् ।
प्रवेशको नाकमा पाँच र टाउकोमा दुई टाँका लगाइएको जिल्ला अस्पताल हुम्लाकी बरिष्ठ अनमी सरिता बोहराले बताइन । घाइते तीनै जनाको अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार लिमिटेडले नियमित वडाको कोटाको चामल वितरण गरेको थियो ।