रुकुम पश्चिम- रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ स्थित निर्माणाधीन ६५ किलोवाटको लघु जलविद्युत आयोजना १२ बर्ष बितिसक्दा पनि संचालनमा आउन सकेको छैन । साबिकको आठबिसडाँडागाउँ गाबिसमा पर्ने यो योजनाबाट १४ सय ४७ घर धुरधुरीलाई समेट्ने गरी कालाखोला लघु जलबिद्युतको काम २०६६ सालमा सुरु गरिएको थियो । तर अहिलेसम्म आयोजनाको न काम नै बन्द छ न अगाडि नै बढ्न सकेको छ ।
अहिले उक्त विद्युतको योजना अघि सारेको १२ बर्ष पुरा भएर १३ बर्ष लागि सक्यो तर विद्युत निर्माण कार्यले गति पाउने कुनै टुंगो छैन । ‘बाह्र वर्षमा त खोला पनि फर्किन्छ भन्छन्, तर हामीले त बिजुली पनि बाल्न पाएनौं’, स्थानीय जैबिर पुनले भने, ‘बिजुलीको नहर, तार कस्दा र पोल ओसार्दा श्रमदान नगरे बिजुली बाल्न नदिने भनी हल्ला चलाइयो, तर त्यो हल्ला १२ वर्षसम्म कायमै रह्यो ।’
गाउँमा बिजुली आएपछि दियालो ,टुक्की र सौर्य उर्जाबाट छुटकारा पाइने भनी खुशी भएका स्थानीयवासी १२ वर्षसम्म विद्युत सञ्चालन नहुँदा समस्या झेल्दै आएका छन् । विद्युत् आयोजना निर्माण भएपछि बिजुली बाल्ने भनेर आशमा बसेका सबै अहिले सौर्य उर्जा, टुक्की र दीयोको भरमा बसिरहेका छन् । उपभोक्ता समितिले हरेक वर्ष बिजुली बाल्छौँ भनी झुटो आश्वासन दिदैँ आएको स्थानीयबासीको गुनासो छ ।