☰ open Loading... 25 November 2024|  

२४ स्थानीय तहले अहिलेसम्म ल्याएनन् बजेट
  | १५ असार २०७८, मंगलवार ०५:४०

सुर्खेत -कर्णालीका२४ वटा स्थानीय तहले अझै बजेट ल्याउन नसकेको खुलासा भएको छ ।असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था भए पनि आवश्यक समन्वयको अभावमा अझै २४वटा स्थानीय तहले बजेट ल्याउन नसकेको पाइएको हो ।कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटा स्थानीयतहहरु मध्ये ५५ वटा स्थानीय तहले मात्रै नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन।

धेरैजस्तो स्थानमा आन्तरिक विवादमा कारण बजेट आउन नसकेको हो ।जनप्रतिनिधिहरु बीचको विवाद, योजनामा छनौटमा सहमति जुट्न नसक्नु तथा कोरोना महामारीको प्रभावले जस्ता कारणले २४ वटा स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न नसकेको बुझिएको छ।

 

तोकिएको समयमा बजेट ल्याउन नसक्नेमा डोल्पाका छ पालिका छन्। ठूलोभेरी नगरपालिका, डोल्पोबुद्ध गाउँपालिका, जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन्।

ती मध्ये मुड्केचुला गाउँपालिकामा अध्यक्ष दत्तबहादुर शाही र उपाध्यक्ष सविताकुमारी रोकायाबीच चर्को विवाद छ। त्यहाँ माओवादीबाट निर्वाचित अध्यक्ष शाही अल्पमतमा छन्। एमालेबाट निर्वाचित उपाध्यक्ष रोकायाको बहुमत छ।

डोल्पाकै अन्य स्थानीय तहमा पनि विवाद चर्किदै छ। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका, कालिकोट जिल्लाको महावै गाउँपालिका र रास्कोट नगरपालिका, हुम्लाको सर्केगाड, चंखेली र नाम्खा गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छैनन्।

त्यस्तै जुम्लाको चन्दननाथ नगरपालिका, तातोपानी र हिमा गाउँपालिका, सल्यानको वनगाडकुपिन्डे नगरपालिका, बागचौर नगरपालिका, कुमाख गाउँपालिका र छत्रेश्वरी गाउँपालिका, दैलेखका भैरवी, महावु, नौमुले र ठाँटीकाँधले पनि बजेट ल्याएका छैनन्। महावु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच विवाद छ।नौमुले र ठाँटीकाँधमा एमालेभित्रकै जनप्रतिनिधिबीच विवाद छ।