दैलेख -नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाद्वारा सञ्चालित समावेशी खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धन परियोजनाले कोभिड रोकथाम तथा प्रतिकार्य सघाउन दैलेखका ५ वटा स्थानीय तहहरु र सदरमुकामको दैलेख अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
नौमूले, डुंगेश्वर, महाबु गाउँपालिका, दुल्लू नगरपालिका र सदरमुकामको दैलेख अस्पताललाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरी सकेको र आठबीस नगरपालिकालाई चाहिं आज मात्र हस्तान्तरण गर्न आफू राकम जान लागेको नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाका जिल्ला सभापति खेमराज केसीले बताए।
नौमूले, डुंगेश्वर, महाबु गाउँपालिका, दुल्लू र आठबीस नगरपालिकालाई प्रत्येक पालिकालाई ४ वटा अक्सिजन एक सय थान साबुन, १० वटा हर्पिक, ५ वटा ट्वाइलेण्ट सफा ब्रस दिइएको मावेशी खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धन परियोजनाका जिल्ला संयोजक हिरा बिश्वकर्माले जानकारी दिए ।
रेडक्रस शाखा दिएको स्वास्थ्य सामग्रीमा कोरोना संक्रमित भएका व्यक्तिको व्यक्तिगत सरसफाईको लागि एक–एक वटा नुहाउने साबुन, कपडा धुने साबुन, दाँत माझ्ने ब्रुस, टुथ पेष्ट, सेनिटाइजर, पोलिव्याग, ५ वटा पोलिथिन र २५ वटा सर्जिकल मास्क राखिएका १० वटा सेट दिइएको छ ।
स्थानीय तहहरुले सञ्चालन गरेका अस्पतालतमा दिइएका ती स्वास्थ्य सामग्रीहरु कोरोना रोकथाम र कोभिडका विरामीहरु उपचार गर्न सघाउने उद्देश्यले सम्वन्धित पालिकामा पुगेर पालिकाका प्रमुखलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाका उपसभापति पूर्णबहादुर खत्रीले बताए ।
सोमवार स्वास्थ्य सामग्री प्राप्त गरेपछि महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले विपदमा पीडित र प्रभावितलाई रेडक्रसले दिंदै आएको राहत सहयोग गर्ने मानवीय कार्यपछि कोभिड रोकथाममा दिएको सहयोग पनि उल्लेख्य रहेको भन्दै रेडक्रसको प्रशंसा गरे ।
दुल्लू अस्पतालमा स्वास्थय सामग्री प्राप्त गरेपछि दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले परियोजना सञ्चालन भएको स्थान भन्दा बाहिरका स्थानीय तहहरुमा पनि स्वास्थ्य सामग्री दिएकोमा समावेशी खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धन परियोजनालाई धन्यवाद दिए ।
दुल्लू अस्पतालका प्रमुख डा। रञ्जना रोकाय, महाबु अस्पतालका डा। शिशिर गिरी, स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले समावेशी खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धन परियोजनाले दिएको स्वास्थ्य सामग्रीहरु बहु उपयोगी रहेको बताए ।
| १६ असार २०७८, बुधबार ०८:२१