☰ open Loading... 18 November 2024|  

उमेर नपुग्दै विवाह
  | ३ श्रावण २०७८, आईतवार १९:३१

खलंगाः जुम्लामा उमेर नपुग्दै विवाह हुने गरेको छ । सत्तरी प्रतिशत बालबालिकाको उमेर नपुगी विवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । बालविवाह न्यूनीकरण गर्न जिल्लामा सक्रिय दर्जनौँ सङ्घसंस्थाले सचेतना कार्यक्रम गर्दै आए पनि प्रतिफल निराशाजनक छ।

यहाँका केही स्थानीय तहले बालविवाह रोकथाम अभियान चलाउँदा ठूलो रकम खर्चे पनि उपलब्धि शून्य पाइएको छ । सडक नाटकदेखि घरदैलो जस्ता कार्यक्रम पनि बारम्बार भइरहेका छन् । औपचारिकतामा सीमित चेतनामूलक कार्यक्रमले ग्रामीण क्षेत्रमा प्रभाव पार्न नसक्दा बालविवाह न्यूनीकरण हुन नसकेको हो । प्लान नेपालको आर्थिक सहयोगमा आत्मसम्मानका लागि सहकार्य क्याड नेपालले जिल्लाका तीन स्थानीय तहमा बालविवाह न्यूनीकरणका लागि कार्यक्रम गरिरहे पनि ग्रामीण क्षेत्रमा बालविवाह घटेको छैन ।

विसं २०६८ को जनगणनाअनुसार जुम्लाको कूल जनसङ्ख्या एक लाख १८ हजार छ । यसमध्ये ५५ हजार ४४२ बालबालिका छन् । सत्तरी प्रतिशत बालबालिकाको बालविवाह हुने गरेको एक तथ्याङ्कले देखाएको हो । क्याड नेपालका अनुसार कर्णाली प्रदेशमा सबैभन्दा कम डोल्पामा ४९ प्रतिशत र सबैभन्दा बढी रुकुमपश्चिममा ७१ प्रतिशत बालविवाह हुने गरेको छ ।

जुम्लामा ७० प्रतिशत बालविवाह छ । हुम्लामा ५२, मुगुमा ५७, कालीकोटमा ५९, जाजरकोटमा ६५, सुर्खेतमा ६८, सल्यानमा ६९ र दैलेखमा ७० प्रतिशत बालविवाह हुने गरेको क्याडका परियोजना अधिकृत जयलक्ष्मी चौलागाईंले बताए ।