☰ open Loading... 19 November 2024|  

सुर्खेतमा चार प्रतिशतले मात्र पाए खोप
  | २ श्रावण २०७८, शनिबार ०५:२८

सुर्खेत- सुर्खेतमा अहिले सम्म कोरोना विरुद्धको खोप चार प्रतिशतले लगाएका छन् । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार अहिलेसम्म जिल्लाको कूल जनसंख्यामध्ये चार प्रतिशतले दुवै डोजको खोप पाएका हुन् । कार्यालय प्रमुख चेतननिधि वाग्लेले अहिलेसम्म १४ हजार दुई सय ७९ जनाले पहिलो र दोस्रो दुवै डोज लगाएको बताए ।

भेरोसेलको पहिलो डोज ६ हजार एक सय ५३ जनाले लगाएकोमा दोस्रो डोज पाँच हजार ६ सय ३६ जनाले लगाएका छन् । केही सुुरक्षाकर्मी र कर्मचारी सरुवा भएर अन्य जिल्ला गएको र कतिपय सर्वसाधारण समेत दोस्रो मात्रा लगाउनबाट छुटेको कार्यालयले जनाएको छ ।

यस्तै, खोपको पहिलो डोज लगाएको आठ प्रतिशत जनसंख्या दोस्रो डोजको पर्खाइमा छ । कोभिशिल्ड लगाएका ३३ हजार पाँच सय ४९ जनाले दोस्रो डोज पाएका छैनन् । कोरोना संक्रमणको दोस्रो लहर आएसँगै खोप लगाउन इच्छुकको संख्या अत्यधिक छ । खोप अभावका कारण सबैले लगाउन पाएका छैनन् । सरकारले जोखिमको प्राथमिकरण र उमेर समूह निर्धारण गरेर खोपका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।बुधवार मात्र कर्णाली प्रदेशमा ५२ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये सुर्खेतका थप नौ जनामा संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशभर सात सय ७० सक्रिय संक्रमित छन् ।