काठमाडौं । गत आर्थिक वर्ष २०७७-७८ को बजेटमा राखिएको अधिकांश लक्ष्य भेट्टाउन नसकेको सरकारले एक वर्षमा जम्मा ११ खर्ब ८० अर्ब रुपैयाँ मात्र बजेट खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले सो जानकारी गराएका हुन् ।
ढुंगानाले गत आर्थिक वर्ष २०७७-७८ मा कुल ११ खर्ब ८० अर्ब रुपैयाँ मात्र बजेट खर्च भएको जानकारी दिए । गत आवमा सरकारले कुल १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको र मध्यावधि समीक्षा गर्दा त्यसलाई १२ खर्ब ६६ अर्ब खर्च हुने संशोधित अनुमान गरिएको थियो ।
सचिव ढुंगानाले ३१ असारसम्मको प्रारम्भिक अनुमानअनुसार कुल ११ खर्ब ८० अर्ब रुपैयाँ मात्र खर्च भएको छ । यो सुरु अनुमानको ८०.०८ प्रतिशत र संशोधित अनुमानको ९३.२० प्रतिशत मात्र हुन आउँछ ।’
अर्थसचिव ढुंगानाले सो अवधिमा चालू खर्चतर्फ ८ खर्ब ५१ अर्ब खर्च भएको बताए । चालू खर्चको अनुमान ९ सय ४९ अर्ब रहेको र संशोधित अनुमान भने ८ खर्ब ६७ अर्ब रहेको उनले जानकारी दिए । ढुंगानाले पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब अर्ब रुपैयाँ विनियोजन गरिएको र संशोधित अनुमान २ खर्ब ५१ अर्ब रुपैयाँ रहेकोमा यस अवधिमा जम्मा २ खर्ब २८ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको बताए ।
यस्तै, वित्तीय व्यवस्थापनतर्फ कुल १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको र संशोधित अनुमान १ खर्ब ४५ अर्ब रुपैयाँ रहेकोमा कुल १ खर्ब रुपैयाँ मात्र खर्च भएको उनले जनाए । त्यस्तै, राजस्वको सुरु अनुमान १० खर्ब ११ अर्ब रुपैयाँ र संशोधित अनुमान ९ खर्ब ५९ अर्ब रहेकोमा राजस्वमा मात्रै ९ सय ३८ अर्ब संकलन भएको उनले जानकारी दिए ।राजधानि दैनिकबाट