☰ open Loading... 17 November 2024|  

कर्णालीका बालबालिका असुरक्षित
  | ५ श्रावण २०७८, मंगलवार ०५:३२

सुर्खेत- कर्णाली प्रदेशमा बालबालिका मानव बेचबिखन तथा ओसारपसारको जोखिममा छन्। सबैजसो जिल्लाबाट बालबालिकाको बेचबिखन तथा ओसारपसार हुने गरेको हो । बालबालिकाको कमजोर पारिवारिक स्थितिको फाइदा उठाउँदै अनेक प्रलोभनमा पारी काठमाडौं, पोखरालगायतका सहरहरूमा लैजाने गरिएको छ । बालबालिकालाई यसरी गाउँबाट सहरसम्म लिन गिरोहहरू नै संलग्न छन् ।

प्रदेश प्रहरी कार्यालयअनुसार चार वर्षको अवधिमा कर्णालीका २० जना बालबालिका मानव बेचबिखन तथा ओसारपसारमा परेका छन् । आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७÷०७८ मा सुर्खेतका मात्रै नौै जना बेचबिखन तथा ओसारपसारमा परेका हुन् । यस्तै, यो अवधिमा सल्यानमा चार, जुम्लामा तीन, दैलेखमा दुई र कालीकोट तथा रुकुम पश्चिममा एक–एक जनाको बेचबिखन भएको हो ।

आइतवार कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र ९सेलर्ड० नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा कर्णालीमा मानव बेचबिखन तथा ओसारपसारको अवस्था डरलाग्दो रहेको बताइएको छ । अधिवक्ता कपिल अर्यालले गाउँगाउँबाट बालबालिकालाई काठमाडौंका बालगृहरूमा लगिने गरिएको बताए ।

केही वर्षयता बालबालिकालाई निःशुल्क पढ्ने–लेख्न र बस्न दिने प्रलोभन देखाई बालगृहमा राखेर जबरजस्ती धर्म परिवर्तन गराउने समेत गरिएको छ । छोराछोरी त्यस्ता ठाउँमा पठाएर अभिभावकहरूले समेत रकम असुल गरेका घटना समेत सार्वजनिक हुने गरेका छन् । परिवारबाटै ओसारपसारको जोखिम भएपछि बालबालिका थप असुरक्षित बनेका हुन् ।