जुम्ला- जुम्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत्को पहुँच पुग्न लागेको छ । ।कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले जुम्ला जिल्लालाई तत्काल विद्युतको राष्ट्रिय प्रसारणलाईनमा जोड्न निर्देशन दिएका छन्। नेपाल विद्युत प्राधिकरणसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले जुम्लामा विद्युतको राष्ट्रिय प्रसारणलाइन पुर्याउन आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताए।
‘छिमेकी जिल्लासम्म पुगिसकेको विद्युतको प्रसारणलाइन तत्काल जुम्लासम्म पुर्याउन विद्युत प्राधिकरणलाई निर्देशन दिएको छु,’ मन्त्री श्रेष्ठले भने, ‘हप्ता १० दिनभित्रमा जुम्लामा राष्ट्रिय प्रसारणलाइन पुग्ने अपेक्षा लिएको छु।’ मन्त्री श्रेष्ठले राष्ट्रिय प्रसारणलाइनका लागि आवश्यक पर्ने विद्युत सामाग्रीहरु खरिदका लागि पनि मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख सुरेन्द्र अग्रहरिले जुम्लालाई राष्ट्रिय प्रसारणलाइनमा जोड्न तिब्रताका साथ काम भइरहेको बताए। ‘कालिकोटसम्म ३३ केभीलाइन पुर्याएका छौं, जुम्लामा लाइन विस्तारको काम भइरहेको छ,’ उनले भने, ‘एक साताभित्र जुम्लालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेका छौं।’
क्षेत्रीय कार्यालय प्रमुख अग्रहरिले निरन्तरको वर्षाका कारणले काममा समस्या भइरहेको बताए। ‘विभागीय मन्त्रीज्यूको निर्देशन अनुसार चाँडोभन्दा चाँडो जुम्लालाई राष्ट्रिय प्रसारणलाइनमा जोड्ने लक्ष्य हाम्रो छ,’ उनले भने, ‘निरन्तरको वर्षाले काममा अवरोध गरिरहेको छ।