☰ open Loading... 16 November 2024|  

युवा नेता बिष्टद्धारा विद्यालयलाई १ लाख आर्थिक सहयोग
  | ६ श्रावण २०७८, बुधबार ०५:२४

वीरेन्द्रनगर । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता हरि विष्टले नेपाल राष्ट्रिय आधारभुत विद्यालयको खेल मैदान निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।तरुण दल सुर्खेतका अध्यक्ष विष्टले व्यक्तिगत खर्चमा विद्यालयलाई १ लाख रुपियाँको चेक उपलब्ध गराएका हुन् । वीरेन्द्रनगर नगरपालिका–१ धारापानी, पोखरीमा रहेको विद्यालयको खेल मैदान बनाउन आर्थिक सहयोग खर्च गरिनेछ ।

विद्यालयको खेल मैदान निर्माणका लागि सरकारी निकायबाट आर्थिक सहयोग नभएपछि विद्यालयलाई आफूले व्यक्तिगत रुपमा सहयोग गरेको अध्यक्ष विष्टले जानकारी दिएका छन् ।तरुण दलका अध्यक्ष विष्टले भने, ‘विद्यालयको फिल्ड राम्रो नहुँदा बालबालिकालाई खेलकुदका लागि समस्या थियो । खेल मैदान मर्मत सम्भार गर्न १ लाख आवश्यक देखेपछि मैले सानो सहयोग गरेको हुँ ।’

विष्टले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमराज बिक र विद्यालयका प्रधानाध्यापक ओमप्रकाश ढुंगानालाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन्।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमराज बिकले तरुण दल र अध्यक्ष विष्टलाई खेल मैदानको मर्मत सम्भारका लागि गरिएको आर्थिक सहयोगप्रति धन्यावाद दिएका छन् ।

प्रधानाध्यापक ओमप्रकाश ढुंगानाले खेल मैदानको मर्मत भयो भने विद्यार्थीलाई खेलकुद गर्न सजिलो हुने बताएका छन् । उनले भने, ‘हाम्रो विद्यालयमा दलित समुदायका विद्यार्थी धेरै छन् । उनीहरूलाई खेलकुदमा अब सजिलो हुनेछ ।’

विद्यालयको खेल मैदान निर्माणका लागि राजु मगरातीको संयोजकत्वमा ७ सदस्यीय निर्माण समिति गठन गरिएको छ । खेल मैदान निर्माणको काम सुरूवात समेत भैसकेको छ ।तरुण दल सुर्खेतका अध्यक्ष विष्ट कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेशका अध्यक्ष समेत हुन् ।

विष्टले गृहजिल्ला सुर्खेतमा कोरोना महामारीका बेला खाद्यान्नसहित विभिन्न सहयोग गर्दै आएका छन् । उनले आर्थिक अभावमा उपचार गर्न नसकेका दीनदुखिलाई उपचार समेत गर्दै आएका छन् । तरुण दल सुर्खेतका अध्यक्ष विष्टले अति विपन्न, मजदुर, दलित र समस्यामा रहेकाहरूलाई सहयोग गदै आएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले कोरोना महामारी र बाढीपहिरो पीडितका लागि सहयोग गर्दै आइरहेका बेला उनकै शैलीमा सुर्खेतमा तरुण दलका अध्यक्ष विष्टले पनि सहयोगहरू गर्दै आएका छन् ।