जाजरकोट- बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा विश्वमै दुर्लभ मानिएका चराहरु फेला परेका छन्। पटकपटक गरिएको अध्ययनबाट बारेकोटमा दुर्लभ चराहरु फेला परेको पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्द सिंहले बताए।
विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, नेपालमा लोपोन्मुख हिमाली गिद्ध, संकटोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची आईआईमामा सूचीकृत कालो चिल, कालिज, काकाकुल, लोभीपापी गरुड र कर्रासुगा फेला परेको सिंहले बताए।
उनले बारेकोट–२ जीउलामा लोभीपापी गरुड फेला परेको जनाकारी दिए। यसअघि जाजरकोटको भेरी नगरपालिका, बाँकेको चिसापानी र सुर्खेत सिम्तामा लोभीपापी गरुड फेला परेका थिए। सामान्यतः ९१५ मिटरभन्दा कम उचाईको भू–भागमा पाइने लोभीपापी गरुड बारेकोटमा भने एक हजार ६०० मिटरको उचाईमा भेटिएको सिंहले बताए। धेरै उचाइमा समेत लोभीपापी गरुड भेटिन थालेपछि अध्याताहरूका लागि चासोको विषय हुन सक्ने उनको भनाइ छ।
लोभीपापी गरुड अग्ला सिमल र सालको रूखमा बस्ने र गुँड लगाउने गर्छ। रूख फँडानी गर्दा गिद्धलगायत यो पंक्षीलाई असर परेको छ। अर्को समस्या भनेको बालीनालीमा विषादी हालेर मुसा मार्दा यसले खाएर पनि मर्ने गरेको उनको भनाइ छ। मानवीय क्रियाकलापकै कारण यो दुलर्भ पंक्षी लोप हुने अवस्थामा पुगेको छ। यसले बालीनालीमा हुने किरा फट्यांग्रा, भ्यागुतो, सर्प, मुसा खाएर बालीको सुरक्षा गर्ने भएकोले किसानको साथी मानिन्छ।
लोभीपापी गरुड मध्यम आकारको गरुड हो। यसको गठिलो, प्रायः कालो शरीर, भुवादार सेतो घाँटी, कालो शिर तथा निर्गमस्थल र तल्लो पुच्छर ढकनी सेतो भएको हुन्छ।यो चरा एसियाको रैथाने प्रजाति हो। लोभीपापी गरुड एसियामा नेपाल, भारत हुँदै इन्डोनेसियासम्म तथा अफ्रिकामा पनि पाइने गर्छ।