☰ open Loading... 16 November 2024|  

उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता
  | ११ श्रावण २०७८, सोमबार १८:०३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।

सोमबार केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर सनाखतपछि आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सनाखतका क्रममा उपेन्द्रको पक्षमा ३४ र महन्थको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए । अर्का एक सदस्य रेशम चौधरी भने तटस्थ रहे ।

उपेन्द्रले जसपामा आधिकारिकता पाएसँगै आयोगले महन्थ पक्षलाई भने नयाँ दल दर्ताका लागि आउन भनेको छ । नयाँ पार्टी दर्ता गर्ने हो भने रीत पुर्‍याएर निवेदनसहित आउन महन्थ ठाकुर पक्षलाई आदेश भएको निर्वाचन आयोगका प्रवक्ता श्रेष्ठले बताउनुभयाे ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको इजलासले उक्त निर्णय गरेको हो ।

उपेन्द्र यादवले दलको लेटरप्याड, चुनाव चिह्न, हस्ताक्षर आदिको दुरुपयोग हुँदा पार्टी सञ्चालन गर्न समस्या भएको भन्दै दलको आधिकारिकता पाऊँ भन्दै आयोगमा निवेदन दिएका थिए । अब दलको नाम, चिह्न, लेटरप्याड सबै उपेन्द्रको भएको छ ।

उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै महन्थ ठाकुर समूह दलविहीन भएको छ । इजलासले सांसद्हरूकाे सन्दर्भमा भने केही पनि बोलेको छैन ।