☰ open Loading... 18 May 2024|  

सुर्खेतमा २३ हजारलाई जेनसेन खोप लगाइँदै
  | १४ श्रावण २०७८, बिहीबार ०५:१८

 

सुर्खेत । सुर्खेतमा २३ हजार जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ । ५० देखि ५४ वर्ष उमेर समूह, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, स्वास्थ्यकर्मी, सरसफाइकर्मी तथा विदेश जाने नागरिकहरूलाई खोप लगाउने तयारी गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार जिल्लामा दुई चरणमा खोप लगाइँदै छ । साउन १५ र १६ गते पाँच वटा स्थानीय तह र साउन २१ र २२ गते चार वटा स्थानीय तहमा खोप लगाइने छ । जेनसेन खोप दुई चरणमा लगाउन लागिएको हो ।

जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले १५ र १६ गते भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, चिङ्गाड गाउँपालिका, बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकामा खोप दिइने बताए । यस्तै, साउन २१ र २२ गते सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट र पञ्चपुरी नगरपालिकामा खोप लगाइने कार्यक्रम छ ।

यसअघि साउन ११, १२ र १३ गते पनि सुर्खेतमा कोरोना भाइरसविरुद्धको खोप अभियान चलाइएको थियो । यतिबेला २५ हजार पाँच सय ४८ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् भने साउन १५ र १६ गते भेरोसेलको पहिलो मात्रा छुटेकालाई पनि वीरेन्द्रनगरमा खोप लगाइने व्यवस्था गरिएको छ ।