☰ open Loading... 19 November 2024|  

बाँके राष्ट्रिय निकुञ्जमा बर्सेनि बढ्दै पाटेबाघ
  | १६ श्रावण २०७८, शनिबार ०७:१५

 

नेपालगञ्ज–पाटेबाघको संरक्षण गर्नैका लागि ११ वर्षअघि स्थापना गरिएको देशकै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएको छ । निकुञ्ज स्थापना हुँदा चार वटा मात्र बाघ रहेकोमा हाल आएर २५ भन्दा बढी पुगेको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले निकुञ्ज स्थापना हुँदा ४ वटा बाघ रहेकोमा त्यसको आठ वर्षपछि गरिएको गणनामा सो संख्या २१ पुगेको जनाउँदै हाल २५ भन्दा बढी रहेको आकलन गरिएको बताउनुभयो ।

उहाँले निकुञ्जमा पाटेबाघको संख्या बढेर २५ भन्दा बढी भएको अनुमान गरिएकोले बाघको वासस्थान र आहारा प्रजाती व्यवस्थापनलाई जोड दिईरहेको बताए।

निकुञ्जले तारबार, पोखरी, वनपथ, घाँसे मैदान, मचान, सुरक्षा पोष्ट लगायत पुर्वाधार निर्माण गरेको प्रमुख संरक्षण अधिकृत शाहले जानकारी दिए । ‘बाघ हेर्न आउने पर्यटकका लागि धेरै पूर्वाधार तयार भईसकेका छन्, अझै कतिपय पूर्वाधार बनाउने योजनामै छौं,’ उनले भने ।

सन् २०२० मा निकुञ्जले आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तयारी गरिरहँदा कोरोना महामारीले सबै योजना प्रभावित बन्न पुगेको थियो । महामारी नियन्त्रणमा आएपछि बाघ हेर्न आउने पर्यटक लक्षित कार्यक्रम अगाडी बढाउने निकुञ्जको तयारी छ ।