सुर्खेत। कर्णाली नदीमा डुंगा पल्टिँदा बेपत्ता चारमध्ये एक जनाको शव भेटिएको छ । सुर्खेतको चौकुने र कैलालीको मोहन्याल गाउँपालिकाको बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवती महिलासहित चार जना बेपत्ता भएकोमा एक जनाको शव फेला परेको हो ।
शव भेटिनेमा एक महिला रहेकी छन् भने गर्भवती महिलासहित अन्यको अवस्था अज्ञात छ । यस्तै एक बालकलाई उद्दार गरेर मोहन्याल गाउँपालिकाको शोल्टा स्वास्थ्य चौकीमा पठाइएको घटनास्थलमा रहेका चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले जानकारी दिएका छन् । भेटिएको शव कसको हो भन्ने अझै खुलिसकेको छैन ।
कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा आउने क्रममा डुंगा पल्टिएको उनले बताए ।
उनले भने, ‘विजौरामा आइतबार खोप लगाउने कार्यक्रम थियो । उनीहरु आफ्ना बच्चालाई नियमित खोप लगाउन विजौरा आउन लागेका थिए ।’ उनका अनुसार बेपत्ता भएका व्यक्तिहरुको प्रहरी र स्थानीयद्धारा खोजी कार्य जारी छ ।
इलाका प्रहरी कार्यालय सुगराखल कैलालीका अुनसार बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका–३ बस्ने २० वर्षीया उर्मिला सलामी मगर, उनका १० दिनको बच्चा र त्यही ठाउँमा बस्ने २० वर्षीया पार्वती थापा छन् । त्यस्तै मोहन्याल गाउँपालिका–३ बस्ने १९ वर्षीया धनसरा सलामी मगर र उनकै एक महिनाका छोरा कर्ण सलामी घाईते भएका छन् ।