| १८ श्रावण २०७८, सोमबार ०५:४८
काठमाडौं । नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा बलाधिकृत रथी प्रभुराम शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शर्मालाई साउन २६ गतेदेखि लागु हुनेगरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।
प्रधानसेनापति थापा अनिवार्य अवकाशमा जाने भएपछि राष्ट्रपतिले शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकेको हो । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ बाट सकिँदैछ ।
मन्त्रिपरिषदको साउन १२ को निर्णयले शर्मालाई ज्येष्ठताका आधारमा कामु प्रधानसेनापतिका लागि सिफारिस गरेको थियो । प्रधानसेनापति थापा २५ साउनदेखि घर बिदामा बस्ने भएकाले ज्येष्ठताका क्रममा रथी प्रभुराम शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ९३० अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को १२ साउनको निर्णयबाट सिफारिस गरिएको थियो ।