सुर्खेत : पछिल्लो समय सुर्खेतमा एउटा सडकको चर्चा धेरै चुलिएको छ । वीरेन्द्रनगर उपत्यकाभित्रको एउटा पीच गरिएको सडक सामाजिक सञ्जालमा फोटो खिच्ने भाइरल रोडका रुपमा चर्चित बनेको छ ।
मानिसहरु यो भाइरल रोडको कुरा गर्ने मात्रै होइन, पुगेर फोटो खिचेरै फर्किने गरेका छन् । कतिपय व्यक्ति, सरकारी कर्मचारी, पत्रकार, नेता, कार्यकर्ता पनि भाइरल रोड पुगेर फोटो तथा सेल्फी खिचेर फर्किने गरेका छन् ।
यो एउटा सडक हो । जुन हरियाली खेत भएको बीचमा छ । अनि सडक यति राम्रोसँग पीच गरेको देखिन्छ, सेल्फी खिच्दा पनि आकर्षक आउँछ । माथि डाँडा, छेउमा हरियो धान र केही पर घरहरुले गर्दा यो ठाउँ साच्चिकै भाइरल बनिदिएको छ ।
खासगरी बेलूकीपखको समय भाइरल रोड पुग्नेको संख्या बढ्दो छ । हिजोआज दैनिक सो सडकमा मानिसहरुको भीडभाड देखिने गरेको छ । भीडभाडसँगै कहिलेकाँही सामान्य झडप, दुई समूहबीच चर्काचर्की, विवाद र सेल्फीका लागि तछाडमछाड हुने गरेको छ । त्यो भन्दा बढी टिकटक बनाउनेको भीड भाइरल रोडमा देखिने गरेको छ ।
भाइरलसँगै विवाद र झडप
पछिल्लो समय भाइल रडकमा विवाद र झडप पनि हुने गरेको छ । दैनिक जसो युवा युवतीबीच झडप हुने, भनाभन हुने, विवाद उत्पन्न हुने र झगडाको अवस्था सिर्जना हुने गतिविधि भइरहेका छन् ।
मोटरसाइकल पार्किङ, टिकटक बनाउने स्पटदेखि मानिसहरु जाँदा सडक नै फोहोर बनेको छ । खासगरी दैनिक सयौँ मानिसहरु यो सडकमा पुग्दा सुरक्षाकर्मीको उपस्थिती देखिदैन । यो सुर्खेतीका लागि नजानिदो पाराले पर्यटकीय स्थल बनिसकेको छ ।
तर यो व्यवस्थापन नहुँदा असुरक्षित र अस्तव्यस्त सडक हुने सम्भावना बढ्दो छ । यसलाई विकृति फैलाउने प्रारम्भिक चरणका रुपमा हेरिएको छ ।
नयाँ नयाँ गन्तव्यको खोजीमा आन्तरिक पर्यटक
सुर्खेतमा सामाजिक सञ्जालमा भाइरल बनेको भाइरल रोड मात्रै होइन । यसअघि शहिद पार्क, पातले दरबार लगायतका ठाउँ पनि सेल्फी खिचेकै भरमा भाइरल बनेका थिए । जहाँ फोटो खिच्नैका लागि भीड लाग्ने गरेको थियो ।
सुरु सुरुमा चर्चित बनेका यी ठाउँ हिजोआज बिरानो बन्न थालेका छन् । मानिसहरुले सेल्फी खिचेकै भरमा सुन्दर लागेकै कारण यी ठाउँमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । जसमा सरकारले एक पैसा पनि खर्चिएको छैन ।
तर सेल्फीकै कारण चर्चित बनेका यी ठाउँलाई पर्यटकीय स्थल बनाउने जिम्मेवारीबाट पन्छिएको छ । सुर्खेतमा चर्चित ठाउँ देउती बज्यै, काँक्रेविहान, घण्टाघर, बुलबुले ताल हुँदाहुँदै नयाँ नयाँ ठाउँ भाइरल हुनु भनेको नयाँ पर्यटकीय गन्तव्यको खोजीमा पर्यटक छ भन्ने देखाउनु हो ।
तर यसलाई तीनै तहका सरकारले अलिकति पनि गम्भीर ढंगले लिएको देखिदैन । भाइरल रोडमा हिजोआज, चना, चटपटे, पानीपुरी लगायतको राम्रो ब्यापार भइरहेको छ । त्यसलाई मात्रै व्यवस्थित गर्न सकेमा मात्रै पनि धेरै फाइदा हुन सक्छ । तर त्यसतर्फ अहिलेसम्म प्रदेश सरकार, पर्यटन मन्त्रालय र स्थानीय तहले ध्यान दिएको पाइँदैन ।