☰ open Loading... 29 November 2024|  

ब्लड बैंकको भवन प्रयोगविहीन
  | २० श्रावण २०७८, बुधबार १७:१३

सल्यान – ब्लड बैंक भवन स्थापना भएको एक वर्ष बितिसक्दा अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहेको छ ।सल्यान जिल्ला अस्पतालको परिसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको २० लाख रुपैयाँमा तीन कोठे भवन निर्माण गरिएको छ। आवश्यक जनशक्ति नहुँदा भवन निर्माण भए पनि सञ्चालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताए। उनले यसबारे नेपाल रेडक्रस सोसाइटी, शारदा नगरपालिका र प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताए।

रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका सभापति यौवन प्रकाश श्रेष्ठले ब्लड बैंक सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरु भए पनि जनशक्ति नहुँदा सञ्चालन गर्न नसकिएको बताए। रेडक्रस आफैंले जनशक्ति पदपूर्ति गरेर सञ्चालन गर्न सक्ने अवस्था नभएपछि समस्या भएको उनको भनाइ छ।

सल्यानमा सरकारीसहित निजी स्वास्थ्य क्लिनिक सञ्चालनमा रहेका भए पनि रक्त सञ्चार केन्द्र नहुँदा बिरामीले समस्या भोग्दै आएका छन्। जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नै पर्ने भए पनि जिल्लामा ब्लड बैंक नभएपछि समस्या हुने गरेको छ।

अहिले जिल्लामा मोबाइल ब्लड बैंक सञ्चालन भइ रहेको छ। तर‚ आकस्मिक रुपमा रगत चाहिए बिरामीका आफन्त, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, नेपाली सेना खोज्नुपर्ने बाध्यता छ।