दैलेख- भैरबी गाउँपालिका–१ मा भैंसी किन्ने निहुँ बनाएर बास माग्न आएका तीन जनाको अज्ञात समूहले सेतेको परिवारलाई बेहोस बनाइ लुटपाट गरेका छन् । बिहीबार राति भैँसी किन्ने बहानामा आएका तीन जना अज्ञात व्यक्तिहरूले भैरवी गाउँपालिका–१ रावतकोट बस्ने सेते खत्रीको घरमा आई नाम नखुलेको औषधि खुवाई लुटपाट गरेका दैलेख प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार बेहोस अवस्थामा भेटिएका तीनैजनालाई दैलेख अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको छ । उनीहरुलाई कुन औषधि खुवाएर बेहोस बनाइएको हो भन्नेबारे नखुलेको डिएसपी श्रेष्ठले बताए ।
‘तीन जना अज्ञात व्यक्ति भैंसी किन्ने निहुँमा बिहीबार साँझ सेतेको घरमा बास माग्न आएको भन्ने खुलेको छ, घरको दराज फोडिएको छ, के–कति लुटिएको छ भन्नेबारे यकिन भएको छैन्,’ डिएसपी श्रेष्ठले भने ।सतेको परिवार उपचारपछि पर्किएपछि मात्रै के–कति सामग्री लुटिएको छ भन्नेबारे खुल्ने डिएसपी श्रेष्ठको भनाइ छ । उनका अनुसार इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरिक्षक नेत्र बुढाको नेतृत्वमा खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।सेतेको परिवारलाई बेहोस अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।