बुटवल- लुम्बिनी प्रदेशका नवनियूक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
केसीलाई लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो ।
उहाँसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीले समेत पद तथा गोपनीयताको सपथ लिएका छन् । नेपाली कांग्रेसक डिल्ली चौधरीले ग्रामिण तथा शहरी विकास मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा योजना मन्त्री तथा अन्यले विना विभागीय मन्त्रीका रुपमा सपथ लिएका हुन् ।
जसपाका पूर्मती ढेंगा र सुमन शर्माले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन् । यसैगरी नवलपरासीबाट सुर्य चिन्हमा चुनाव जीतेका अजय शाहीले समेत विनाविभागीय मन्त्रीको रुपमा सपथ लिएका छन् । शाहीलाई नेकपा एमालेले पार्टीको नीति विपरित गएको भन्दै कारबाही गर्ने जनाएको छ ।
लुम्बिनी प्रदेशमा जसपाका ३ जना सांसद मन्त्री बन्ने भएका छन् ।
प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएर सरकारका लागि दाबी गर्न आह्वान गरेका थिए । सोही अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको थियो ।