काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार संग्रहालय अवलोकन गर्नुभएको छ । २०६५ फागुन १५ गने सर्वसाधारणका लागि खुला गरिएको यस संग्रहालयको राष्ट्राध्यक्षले अवलोकन भ्रमण गरेको पहिलोपटक हो ।
कडा सुरक्षा घेराबीच संग्रहालय पुग्नुभएकी राष्ट्रपति भण्डारीले संग्रहालयको मुलद्वारबाट प्रवेश गरी सबै कोठाहरूको अवलोकन गर्नुभयो । त्यसक्रमा उहाँले पूर्व राजाहरूको श्रीपेचदेखि राजदरबार हत्याकाण्ड भएको मुख्य स्थल त्रिभुवन सदनको पनि अवलोकन गर्नुभयो । सर्वसाधारणका लागि अहिलेसम्म त्रिभुवन सदन खाेलिएकाे छैन ।
त्रिभुवन सदनपछि उहाँ फोहोरा दरबारसँगै राजा वीरेन्द्रको निजी निवास पुग्नुभयो । राष्ट्रपति भण्डारीले संग्रहालयभित्र रहेको सिनेमा हलमा प्रवेश गरी संग्रहालयसम्बन्धी स्लाइड शो पनि अवलोकन गर्नुभयो । उहाँले संग्रहालयको निकै रुचिपूर्वक भ्रमण गरेको नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।
राजा ज्ञानेन्द्रको बहिर्गमनसँगै राष्ट्राध्यक्षले नारायणहिटी संग्रहालयको अवलोकन गरेको यो पहिलोपटक हो । यसअघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि नारायणहिटी दरबार संग्राहालयको भ्रमण गर्नुभएको थियो ।