दाङ – दाङको बंगलाचुली गाउँपालिका वडा नं ४ जवरखोलाका धने सार्की उमेरले ४२ वर्ष लाग्नुभयो । मावि श्रीवारीमा ७ कक्षासम्म पढ्नु भएका उहाँ २३ वर्ष लाग्दा कमाउनका लागि भारत पस्नु भएको थियो । होटलमा १४ वर्ष काम गर्नुभयो । दुई वर्षअघि कोरोना भाइरसका कारण होटल चलेन भन्दै उहाँलाई हाेटल सञ्चालकले आधा तलब दिने निर्णय सुनायो । त्यसपछि बल्ल उहाँलाई लाग्यो कि गाउँमै गएर अब रोजीरोटीको उपाय खोज्नुपर्छ । त्यसपछि उहाँ घर फर्कनुभयो र सुरु गर्नुभयो आफ्नै व्यवसाय ।
‘१४ वर्षदेखि लगातार भारत बसिरहेको थिएँ, होटलमा काम गर्थें, पहिलो लकडाउनमा होटल चलेन मालिकले होटल नचलेपछि आधा मात्रै तलब दिने निर्णय सुनाए’—धने सार्कीले भन्नुभयो—‘आधा तनखाले केही पुग्ने अवस्था आएन र फर्केर घर आएँ ।’
गाउँ फर्किएर उहाँले खेतीपाती सुरु गर्नुभयो । उहाँको बारीमा अहिले टमाटर, बन्दागोबी, भन्टा, हरियो खुर्सानी लगायतका तरकारी छन् । अब बंगुर पालनका लागि पनि उहाँले खोर बनाइरहनु भएको छ । अघिल्लो वर्षको लकडाउनमा उहाँले तरकारी बचेरै १ लाख २० हजार रुपैयाँ कमाउनु भयोे । यो वर्ष टमाटरबाट मात्रै साढे तीन लाख रुपैयाँ कमाइ हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । भारतमा गरे जति मेहनत आफ्नै गाउँठाउँमा गर्ने हो भने गाउँमै पैसा कमाउन सकिंदो रहेछ भन्ने लागेको छ उहाँलाई ।
‘बाहिर किन जाने ? आफ्नै गाउँठाउँमा काम गराैँ, गाउँमा पनि त गरेपछि हुने रैछ’ धने सार्कीले थप्नुभयो, ‘म मात्रै होइन अरु चार पाँच जना साथीले पनि अब भारत नजाने सल्लाह गरेर काम सुरु गरिसकेका छौं ।” आफूले पढ्न नपाए पनि छोराछोरीलाई सदरमुकाममै नाम चलेका राम्रो स्कूलमा पढाउने उहाँको इच्छा छ ।
धने सार्कीको जस्तै अवस्था छ दधिराम सार्कीको पनि । ९/१० वर्षको हुदाँ स्कूल जाने र १२/१४ वर्ष हुँदा कमाउन जानुपर्ने त्यतिबेलाको बाध्यताले बंगलाचुली हुक्लाका दधिराम सार्कीका धेरै वर्ष भारतमा बिते । भारतको हिमाञ्चल प्रदेशमा कृषि फर्ममा २० वर्ष काम गर्नुभयो । त्यहाँ काम गर्दा सिकेको सीपलाई उहाँले गाउँमा आएर प्रयोग गरी आफ्नो गुजारा चलाइरहनु भएको छ ।
“सानै उमेरमा भारत गएँ, तरकारी र फलफूल फार्ममा काम गरेँ”—दधिरामले भन्नुभयोे—“त्यहीँको सीपले यहाँ आएर आफ्नै बारीमा काम गरेँ र त्यसैबाट आएको पैसाले आफ्नो छोराछोरी पढाएँ र गुजारा चलेको छ ।”
दधिरामले बारीभरि लटरम्म फरकफरक तरकारी फलाउनु भएको छ । बजारको पनि कमी छैन । घोराहीका व्यापारीले बारीमा आएर तरकारी लैजान्छन् । चार सन्तान हुर्किसकेका छन् । कमाउन भारत गएको जेठो छोरो पनि कोरोनाका कारण रोजगारी गुमेपछि अहिले घरमै छन । छोरोले पनि बाबुसँगै तरकारी खेतीको काम गरिरहेका छन् ।
गाउँमा रोजगारीको अवसर नुहँदा हरेक घरका युवाहरु काम खोज्दै भारत र अरु देश पुगेका छन् । “भारत जाने धेरै छन्, दुई भाइ छोरा हुनेका दुवै भाइ भारतमा छन्”, दधिरामले भन्नुभयो, “तर कोभिडले धेरैलाई भारतबाट फर्कने गरायो, मेरो छोरो पनि भारतबाट फर्किएर म सँगै काम गरिरहेको छ ।”
दधिराम र धने त प्रतिनिधि पात्र मात्रै हुन् । बंगलाचुली गाउँपालिका वडा नं ४ जवरखोलाका धेरै किसान अहिले व्यावसायिक खेतीमा लागेका छन् । सरकारले सहयोग गर्ने हो भने गाउँमै केही गर्न सकिने र विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने उनीहरु बताउँछन् ।
आफ्नो वडाबाट रोजगारीका लागि देश बाहिर गइ फर्केका र गाउँठाउँमै पनि केही गर्छु भन्ने किसानलाई आफूहरुले सहयोग गर्दै आइरहेको बंगलाचुली गाउँपालिका वडा नं ४ का अध्यक्ष नारायण डाँगी बताउनुहुन्छ । आफ्नो वडामा गएको आर्थिक वर्षमा तरकारी खेती र बाख्रा पालन व्यवसाय सुरु गरेका २५ जनालाई २० हजार रुपैयाँका दरले सहयोग गरिएको डाँगीले बताउनुभयो ।
आउँदो वर्ष पनि थप एक सय किसानलाई आर्थिक सहयोग र तालिम दिई प्रेरित गर्ने कार्यक्रम तय भइसकेको उहाँले जानकारी दिनुभयो ।