☰ open Loading... 5 February 2025|  

विद्युतको सास्ती
  | २ भाद्र २०७८, बुधबार ०८:३४

सुर्खेत। नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रको लापरवाहीका कारण सुर्खेत ,दैलेख र जाजरकोटमा विद्युत अनियमित हुने गरेको छ । जसका कारण उपभोक्ताहरुले सास्ती खेप्नु परेको छ । लामो समय लोड सेडिङ्ग पनि नहुने तर नियमित पनि नहुने भएका कारण विद्युतका उपभोक्ताहरुले सास्ती खेप्नु परेको हो ।
विगत तीन चार दिनदेखि त झन अधिकांस समय विद्युत अबरुद्ध भैरहेको छ । बिद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएका यी जिल्लामा भर पर्दो विद्युत सेवा नहुँदा नागरिकले सास्ती व्यहोर्नु परेको हो । केही समयअघिदेखि कालिकोट र जुम्लामा पनि राष्ट्रिय प्रशारण लाइन पुगेको छ।
यी जिल्लामा पनि विद्युतको समस्या उस्तै छ । किन भने अधिकांस समयमा कोहोलपुर –सुर्खेत लाइनमा समस्या आउने गरेको छ । जसले गर्दा मानिसको दैनिकी देखि व्यापार व्यवसायमा नराम्रोसंग असर परेको छ । सुर्खेत वीरेन्द्रनगरस्थित औधोगिक क्षेत्रमा मिल सञ्चालन गर्नुभएका रामश्रण काफ्ले विद्युत अनियमितताले व्यवसाय चौपट भएको भन्नु हुन्छ । ‘विद्युत अनियमितताले गर्दा कामदारहरुलाई काम नभइ ज्याला तिर्न बाध्य भएका छौ’ काफ्लेले भन्नुभयो ‘बत्तिले गर्दा मेशिन पनि विग्रिएका छन् व्यवसाय घाटा हुनुको ९० प्रतिशत कारण विद्युत हो ।’ अहिले सञ्चालनमा रहेको कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन २०४५ सालमा विस्तार गरिएको थियो ।

तत्कालीन राजा वीरेन्द्रको भ्रमणलाई मध्यनजर गरी छ महिनाको अवधिमा हतारहतार प्रसारण लाइन विस्तार गरिएको थियो । मापदण्ड बिनै लाइन विस्तार गरिँदा सामान्य हावाहुरी र वर्षातमा पोल ढल्ने तथा विद्युत् आपूर्तिमा समस्या हुँदै आएको छ । यसै लाइनबाट हाल कर्णालीका अन्य जिल्लामा पनि विस्तार गरिएको छ । जसले लोड धान्न नसकेर बत्ति आउने जाने समस्या हुने गरेको छ ।

सडकको छेउछाउबाट नभई बर्दिया राष्ट्रिय निकुञ्ज र रामघाटदेखि जंगलबाट लाइन ल्याइएकाले लाइन अबरुद्ध हुने वित्तिकै मर्मत गर्न कठिन हुने गरेको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले बताए । ‘दुई तिन दिनदेखि निरणतर पानी परेकाले विद्युतका पोल र रुखहरु ढल्ले समस्याले गर्दा नियमित हुन सकेको छैन’ उहाँले भन्नुभयो ‘पूरानो र जंगल क्षेत्रबाट ल्याइएको लाइन नै मूख्य समस्या छ यसको समाधानका लागि १३२ केभी लाइन ल्याउनुको विकल्प छैन ।’ बर्खामा पानी पर्दा होस हिउदामा हुरी चल्दा नै किन नहोस विद्युत अबरुद्ध हुने समस्याले उपभोक्ता आजित भैसकेका छन् । तर यसको एक मात्र समाधानका रुपमा कोहोलपूर सुर्खेत एक सय ३२ केभि प्रशारण लाईन विस्तारलाई नै औल्याउने गरिएको छ ।
उक्त लाइन विस्तारका लागि नेपाल विद्युत प्राधिकरणले छुट्टै आयोजना इकाई स्थापना गरी काम अघि बढाएकोछ । १ सय ३२ केभी लाइन विस्तारका लागि ठेक्का सम्झौता गरेको १० महिना वितेको छ । तर कामले भने उचित गति लिन सकेको छैन । २ बर्षमा आयोजना सम्पन्न गर्नेगरी भारतीय एक कम्पनीले ठेक्का लिएकोमा अब १४ महिना मात्र बाँकी छ । अहिले सर्भेको काम सकिएको र पोल राख्नका लागि फाउण्डेशनको काम भैरहेको आयोजनाका प्रमुख रवि चौधरीले जानकारी दिनुभयो । उक्त आयोजनाका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र सुर्खेतमा गरी १४ हजार रुख कटान गर्नुपर्ने हुन्छ । रुख कटान गर्न मन्त्री परिषदको स्वीकृती चाहिन्छ । उक्त स्वीकृतीका लागि डेढ महिनाअघि वन मन्त्रालयमा फाइल पेश गरिएको र मन्त्री परिषदले स्वीकृत गरेपछि रुख कटान सुरु हुने आयोजना प्रमुख चौधरीले बताए ।